अमृता अनमोल
३ पुस, बुटवल, विद्यालयमा पछिल्लो समय स्याहारजन्य काममा महिलाको आकर्षण बढ्दै गएको छ । महिलाका लागि यस क्षेत्रमा रोजगारीका अवसर पनि बढेका छन् । जसमा पुरुषको तुलनामा महिला श्रमिकलाई खोजी खोजी राखिन्छ । अन्यको तुलनामा यो काम गर्न महिला निपूर्ण हुने भएकाले होला महिला पनि खुसी भएरै स्याहारजन्य काम गरेको देखिन्छ । “विद्यालयमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीको स्याहार सुसारको काम गर्छु ।” स्याहारकर्ता कपिलवस्तुको शिवराज नगरपालिका ३ की मन्जु थारुले भन्नुभयो, “पहिले पिउन काम भन्दा खिन्न लाग्थ्यो । अहिले स्याहारकर्ता भन्दा आनन्द लाग्छ । हामीले गर्ने काम स्याहारजन्य काम रहेछ । यही काम विदेशमा ठूलो मानिदो रहेछ ।”
कक्षा १२ सम्म अध्ययन गरेकी मन्जु ७ वर्षदेखि विद्यालयमा स्याहारजन्य काम गर्दै आउनुभएको छ । यद्यपि अहिले पनि के काम गर्ने भनेर सोध्दा जो कोहीलाई खुलेर बताउन सक्नुहुन्न । “अहिले अहिले समूहमा बल्ल पहिचान दिन थालेकी छु । यति धेरै पढेर यस्तो काम गरेको भन्छन् भनेर खासै पहिचान खुलाउन मन लाग्दैन ।” मन्जुले सुनाउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका २ की सरीता मगरले स्याहारजन्य काम थालेको ठ्याक्कै १० वर्ष भयो । उहाँ शिशु स्याहार केन्द्रमा कार्यरत हुनुहुन्छ । “करिब ३० जना बालबालिका छन् । तिनीहरुलाई दिउसोमा खाना पकाउने, खुवाउने, हेरचाह गर्ने र सरसफाइ गर्ने काम गर्छु । सानैदेखि घरमा गरेको काम भएर होला काम गर्दा सहजै लाग्छ ।” सरीताले सुनाउनु भयो । के काम भनेर सोध्दा भने अझैपनि खुलेर बताउन सक्नुहुन्न । “बालबालिका स्याहार्ने काम भनेर कसरी भन्नु जस्तो लाग्छ । यसैले सबैलाई पढाउछु भनेर ढाटिदिन्छु ।” सरीताले सुनाउनुभयो ।
मन्जु र सरीता त स्याहारजन्य कामका प्रतिनिधि पात्र मात्रै हुन् । नेपाली समूदायमा अझै धेरै श्रमिक छन् जसले वर्षौदेखि स्याहारजन्य काम गरेका छन् तर, पहिचान पाएका छैनन् । स्याहारजन्य कामलाई श्रमको दायरमा नराख्ने र सम्मानजनक रुपमा नहेर्ने परिपाटीले यस्तो भएको हो । पछिल्लो समय स्याहारजन्य कामको माग बढेपछि बल्ल यसबारे बहस हुन थालेको छ । बहससँगै मन्जु र सरीता जस्ता श्रमिकले बल्ल आफ्नो कामको पहिचान थाहा पाउन सकेका छन् ।
स्याहारजन्य काम भन्नाले कुनै व्यक्तिको आवश्यकतालाई पूरा गर्न गरिने सबै प्रकारका शारीरिक तथा भावनात्मक श्रम हो । बालबालिका, वृद्ध, बिरामी वा अपांगता भएका व्यक्तिको स्याहार गर्ने स्याहारजन्य काम हो । सरसफाइ गर्ने , खाना पकाउने, भाँडा माझ्ने, कपडा धुनेलगायत काम पनि स्याहारजन्य हो । यसबाहेक अन्य घरेलु श्रम स्याहारजन्य काम हुन् । यी काम पहिले महिलाले विना पारिश्रमिक गर्नुपथ्र्यो । अहिले श्रमसहित गराउन थालिएको छ । श्रम पनि गर्ने पैसा पनि पाइने भएपछि महिलाको आकर्षण छ । विद्यालयमा सहयोगीका रुपमा धेरै महिला छन् । शिशु स्याहार केन्द्रमा महिला स्याहारकर्ता छन् । ज्येष्ठ नागरिक केन्द्र, अनाथ आश्रम लगायतमा पनि स्याहार केन्द्र राखिएका छन् । यसघरभित्र वा बाहिर व्यक्तिको हेरचाहजन्य काम स्याहार हो । खाना पकाउने, खुवाउने, घर सरसफाइ गर्ने, लुगा धुने, बालबालिकाको हेरचाह गर्ने, ज्येष्ठ नागरिक वा अशक्त व्यक्तिको सेवा गर्ने, विरामीको स्याहार, अपांग व्यक्तिको सुसार गर्ने लगायतका काम स्याहारका काम हुन् । दुवै हेरचाहजन्य काम हुन् । सामान्य अर्थमा अरुको आवश्यक हेरचाह, सेवा वा सहयोगको काम गर्नु हेरचाहजन्य काम हो । यस्ता काम पहिले पारिवारिक दायित्व र सामाजिक भावले गरिन्थ्यो । धेरैजसो पुरुष कमाउन घरबाहिरको काममा जान्थे । महिला घरमा बसेर काम गर्थे । अहिले रकम लिएर पेशाका रुपमा गरिन्छ । यससँगै स्याहारका कामबाट रकम आर्जन गर्न थालिएको छ । घरभित्र, अस्पताल, बालबालिका स्याहारकेन्द्र, वृद्धाश्रम, अपांगता पुर्नस्थापना केन्द्र, विद्यालय, मन्दिर लगायतका ठाउँमा श्रम र हेरचाहजन्य गरिन्छ ।
पछिल्लो समय स्वदेश तथा विदेशमा घरेलु श्रम र स्याहारजन्य काममा सहभागी हुने व्यक्तिहरुको संख्या बढेको छ । घरेलु श्रमीकका रुपमा र हेरचाहजन्य कामका रुपमा रकम लिएर काम गर्ने र गराउने व्यक्ति पनि दिनानुदिन बढेका छन् । तर, सरकारले व्यवस्थीत गर्न नसक्दा श्रमिकहरुले सम्मानित र सुरक्षित महसुुस गर्न सकेका छैनन् । हेरचाहजन्य काम गर्न चाहानेकालागि पनि कुनै पहिचान र सुरक्षा व्यवस्था छैन । शारीरिक र मानसिक आवश्यकता पूरा गर्न गरिने कामकै पहिचान नहुदा श्रममा संलग्नले सुरक्षित महसुस गर्न सकेका छैनन् ।
यही समस्या देखिएपछि कपिलवस्तुमा पछिल्लो समय असंगठित क्षेत्रमा कार्यरत मजदुरलाई संगठित गर्न थालिएको छ । उनीहरुका सेवा, सुबिधा र पहिचानबारे बहस थालिएको छ । यही क्रममा स्याहारजन्य काममा कार्यरत श्रमिक पनि संगठित हुन थालेका छन् । उनीहरुले कामको पहिचान, सेवा, सुबिधा र सुरक्षाबारे कुरा उठाउन पाएका छन् । सिद्धार्थ सामाजिक विकास संस्था कपिलवस्तुले कपिलवस्तुका विभिन्न पालिकाहरुमा असंगठित क्षेत्रका श्रमिकहरुको पहिचान, सुरक्षा र पारिश्रमिकबारे जनचेतना जगाउन काम गरेको हो । यसअन्तरगत शिवराज नगरपालिकालाई केन्द्रमा राखेर जिल्लालाई नै समेट्ने गरी श्रमिकसँग काम गरीरहेको सस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत श्रमिकको पहिचान गरिन्छ । उनीहरुको कामको प्रकृति बुझीन्छ । सवल पक्ष र दुर्वल पक्ष केलाइन्छ । त्यसपछि उनीहरुको पहिचान, सुरक्षा र पारिश्रमिकका बारेमा आवाज उठाउन सहयोग गरिन्छ । जसमा स्थानीय तहले पनि सहकार्य गरेका छन् । “सरकारले अपनत्व महसुस गर्योभने मात्र बल्ल श्रमिकको पहिचान, सुरक्षा र पारिश्रमिकका सवाललाई स्थापित गराउन सकिन्छ भनेर यसो गरेका हौं ।” सस्थाका उपाध्यक्ष शोभा आचार्यले भन्नुभयो । उहाँले स्याहारजन्य काममा महिला आकर्षण बढ्दै गएको तर, पहिचानमा समस्या देखिएको बताउनुभयो ।

लुम्बिनी रिभ्यू