• Sunday 20th September 2026

रुपन्देहीमा वामपन्थी शक्तिहरू बिच सहकार्य र एकताको बहस

रुपन्देहीमा वामपन्थी शक्तिहरू बिच सहकार्य र एकताको बहस


  • लुम्बिनी रिभ्यू

उषा किरण पन्थ
बुटवल, राष्ट्रिय राजनीतिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको बहस चुलिएका बेला रुपन्देहीमा पनि एकताबारे गर्मागरम बहस भएको छ ।
वामपन्थी दलहरूबीच सहकार्य कसरी बढाउने र विभाजित कम्युनिष्ट आन्दोलनलाई कसरी पुनर्गठित गर्ने भन्ने विषयमा रूपन्देहीमा नेताहरूले विचार मन्थन गरेका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले शनिबार बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा विभिन्न वामपन्थी दल तथा वाम बुद्धिजीवीहरू सहभागी भए ।

गोष्ठीमा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले राष्ट्रिय स्वाधीनता र जनताको अधिकार रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेतृत्वले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने, नातावादबाट टाढा रहनुपर्ने र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । वामपन्थी राजनीतिमा वैचारिक स्पष्टता आवश्यक रहेको भन्दै उहाँले केवल केन्द्रीय सदस्यको संख्या बढाएर मात्रै पार्टी बलियो नहुने धारणा पनि राख्नुभयो । रावलले भन्नुभयो— राजनीति पद र संगठन विस्तारमा मात्रै होइन, विचार र जनताका मुद्दामा केन्द्रित हुनुपर्छ ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले पनि वामपन्थी दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाले समाजवादको आधार तयार पार्न वामपन्थी शक्तिहरूबीच सहकार्य र संवादलाई अघि बढाउनुपर्नेमा उहाँहरूको जोड थियो । गोष्ठीमा नेकपाका नेता चक्रपाणी खनाल , अनिल किशोर घिमिरे , निर्मल जिसी, अब्दुल हुसेन खा , राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य कृष्ण पौडेल, वाम बुद्धिजीवी घनश्याम पाठक तथा प्रलोसपाका बामदेव क्षेत्रीले पनि वाम आन्दोलनलाई पुनर्गठन गर्ने विषयमा धारणा राख्नुभएको थियो ।
पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले विचार गोष्ठीले आगामी दिनमा वामपन्थी शक्तिहरूबीच सहकार्य र संवादका लागि सकारात्मक वातावरण निर्माण भएको बताउनुभयो । रूपन्देहीमा भएको यो बहसले वामपन्थी शक्तिहरूबीचको दूरी घटाउने, नेतृत्वको कार्यशैली सुधार्ने र वैचारिक आधारमा नयाँ सहकार्य खोज्ने प्रयासलाई भने फेरि बहसको केन्द्रमा ल्याएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend