उषा किरण पन्थ
बुटवल, पारिवारिक रुपमा एक्लै संघर्ष गरिरहेका रुपन्देहीका एकल महिलाहरुले आर्थिक र सामाजिक सशक्तीकरणका लागि एकताबद्ध हुन सबै क्षेत्रका एकल महिलाहरुलाई आग्रह गरेका छन् ।
श्रीमान्को मृत्यु भएका, सम्बन्ध विच्छेद वा अन्य पारिवारिक कारणले एकल जीवन बिताइरहेका महिलाहरुले आर्थिक अभावसँगै सामाजिक विभेद, असुरक्षा र पारिवारिक जिम्मेवारीको बोझसमेत एक्लै सामना गर्नुपरेको भन्दै उनीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।
मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको चौथो साधारण सभा तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रमका सहभागीहरुले एकल महिलाका लागि राज्यले विभिन्न सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रम सञ्चालन गरे पनि सबै महिला त्यसको पहुँचमा पुग्न नसकेको बताउदै त्यसका लागि सामूहिक पहल आवश्यक परेको जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले एकल महिलाहरू एक भएर अघि बढे हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले सुशासनका क्षेत्रमा महिलाहरू इमानदार भएर काम गर्ने बताउदै अब महिलाको समय आएको भन्दै आर्थिक, सामाजिक तथा क्षमता अभिवृद्धिका लागि महिलाहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष रिता सेन ओलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले एकल महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक, नेतृत्व विकास, कानुनी सचेतना तथा आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साधारण सभाको अवसरमा एकल महिलालाई लक्षित गरी डिजिटल हिंसा तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक अभिमुखीकरण समेत प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पा ढकाल र शारदा पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष अरुण श्रेष्ठ, जनप्रतिनिधि माया दर्नाल, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ की सदस्य इन्दिरा ज्ञवाली तथा संस्थाका सचिव कला केसीलगायतले एकल महिलाका अधिकार र आवश्यकताबारे सुझाब राख्नुभएको थियो ।

लुम्बिनी रिभ्यू