• Saturday 25th July 2026

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु

उपाध्यक्ष, महासचिव, उपमहासचिवसहितका शीर्ष नेताहरुद्धारा सम्वोधन र प्रशिक्षण


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटी बैठक शुक्रबारदेखि दाङमा शुरू भएको छ ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुवास नेम्वाङले नेकपा (एमाले) को दबाबकै कारण सरकारले बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको बताउनुभयो ।

हाम्रो दबाबबाट मिति घोषणा : नेम्वाङ


उहाँले भन्नुभयो–‘हाम्रो दबाबबाट मिति घोषणा भएको छ, एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन्, त्यस अर्थमा हामीलाई चुनौती र अवसर दुवै आएको छ, यसको नतिजा निर्वाचनबाट देखाउनुपर्नेछ । ’
नेता नेम्वाङले भन्नुभयो– ‘हामीले सदनमा, सडकमा, न्यायालयमा सवैतिर उत्रेर चुनौतीको सामना गरेका छौं । यो सरकार संसद वा जनमतबाट हैन, अदालतको परमादेशबाट बनेको हो । त्यसैले यसको फैसला जनताले गर्नेछन् । हामी बहीखाता लिएर जनताको बीचमा जाँदैछौँ ।’
‘हामीले चुच्चे नक्सा सर्वसम्मत प्रकाशित गरी ऐतिहासिक काम गर्यौ, नाकाबन्दी कहिल्यै नहुने अवस्था सिर्जना भएको छ, स्थानीय तहको चुनावमा पाँच हैन कतिपय ठाउँमा छ दलको गठवन्धन भए पनि हामीले एमालेलाई पहिलो शक्ति बनायौं’– उहाँले भन्नुभयो–‘हामीलाई सरकारमा जान हतारो छैन । यस अर्थमा हामी चोरबाटोबाट सत्तामा जानु छैन, यो गठबन्धन संविधान विरोधी छ । यस्तो रमिता संसारमा कही कतै हुँदैन । यही एजेण्डा लिएर चुनावमा जाऔं । ’

जति धेरै साक्षात्कार उति धेरै मत : पोखरेल


महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सिटमा जितेका थियौं भने अहिले गठबन्धनसँग लड्दा २०६ जितेका छौं, यस आधारमा दृढ संकल्पका साथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको छ भन्नुभयो ।
चौतर्फी घेराबन्दीका बीचमा चुनावको सामना गरेर अगाडि आएको स्मरण गर्दै विपक्षीहरूको चाहना हामीलाई एक्ल्याउने नै भएकाले सोही अनुसारको रणनीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेका  उम्मेदारहरूले जित्ने ठाउँमा हारेका तीन कारणहरू रहेको बताउनुभयो । ‘पहिलो पार्टीका अगुवा टिकट नपाएका कारण घर बस्नुभयो र उहाँहरूलाई अनुनय विनय गरेर बोलाउनुपर्यो , दोस्रो जुलुस, कार्यक्रममा हिंड्ने तर, पार्टीले बेठिक गर्यो, चुनाव हारिने भयो भनेर भन्ने । यसो गरेर उसले के प्रभाव पार्यो होला ? तेस्रो पार्टी निर्णयको बिरोध नै गरेर हिंड्ने तप्का पनि देखियो र हाम्रो प्रतिरोधी क्षमता घट्नु अर्को कारण हो ।’ उहाँले भन्नुभयो–‘चुनाव भनेको जनतासंग साक्षात्कार गर्नु हो । जति धेरै साक्षात्कार उति धेरै मत । तर यो पटक साक्षात्कार नै गरिएन, यसमा सुधार जरूरी छ ।’

कमजोर पक्षलाई तत्काल सुधार्ने अभियान : ज्ञवाली


उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचनको सवल पक्षलाई लिएर चुनावी रणनीति बनाउँदै कमजोर पक्षलाई तत्काल सुधार्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले ०७४ मा भन्दा बढी मत आए पनि केही तथ्यांकमा पछाडि परेकाले आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
‘अहिलेको एमाले विरुद्ध ठूलो शक्ति गठबन्धनमा बसेको छ, यो हाम्रो शक्ति देखेर हो भन्ने हामीले बुझौं, अब प्रचारका कामलाई चुस्त बनाऔं, आन्तरिक संगठनलाई मजबुत बनाऔं, हामीलाई जनताको माया भएको कुल मत परिणामले देखाएको छ’– नेता ज्ञवालीले भन्नुभयो ।
‘नीति,नेतृत्व र विचार स्थापित गरौं, सत्य कुरा स्थापित गर्दै विपक्षले फैलाएका भ्रम चिरौं, विपक्षका कमजोरी, गलत नियतलाई स्पष्ट गरौं’– उहाँको भनाइ थियो ।

साे अवसरमा केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज छबिलाल बिश्वकर्माले लुम्बिनीमा एमालेकाे विजयकाे यात्रा बढाउन थप याेजनासहित अघि बढ्ने बताउनुभयाे  ।

प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षता तथा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली,केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज छबिलाल बिश्वकर्मा लगायतले प्रशिक्षण तथा मन्तब्य दिनुभएको थियो ।
दोश्रो दिन उपाध्यक्ष बिष्णु प्रसाद पौडेल लगायतले प्रशिक्षण दिनुहुनेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend