• Saturday 25th July 2026

मानव अधिकार रक्षकको अधिकारको खोजी

मानव अधिकार रक्षकको अधिकारको खोजी

लुम्बिनी प्रदेशले बनाएको विधेयकमाथि छलफल


  • लुम्बिनी रिभ्यू

बुटवल । मानव अधिकार रक्षकहरुको संरक्षण तथा संवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले विधेयक तयार गरेको छ । विधेयकको प्रस्तावनामा मानव अधिकारको संरक्षण तथा संवर्द्धनमा मानव अधिकार रक्षकहरुको महत्त्वपूर्ण भूमिकालाई सबल र उत्तरदायी बनाउन एवं उनीहरुको काम, कर्तव्य र दायित्वलाई स्पष्ट पार्न विधेयक तयार गरिएको उल्लेख छ ।

विधेयकमाथि बिहीबार प्रदेश सांसद र मानव अधिकार रक्षकहरुबीच छलफल भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले छलफलको आयोजना गरेको छलफलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजेन्द्र थापाले मस्यौदा प्रस्तुत गरे । आठ वटा परिच्छेदमा तयार गरिएको विधेयकको मस्यौदामा मानवअधिकार रक्षकहरुलाई सरकारी, प्रशासनिक, सुरक्षा निकाय, राजनीतिक दल लगायतले सुरक्षा र संरक्षण गर्नुपर्ने भनिएको छ । यससँगै रक्षकहरुले असुरक्षा महसुस गरेमा स्थानीय प्रशासन र सरकारी निकायले सुरक्षा प्रदान गर्नुपर्ने उल्लेख छ ।

विधेयकमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण मात्र होइन काम, कर्तव्य तथा अधिकारको समेत व्याख्या गरिएको छ । जसमा रक्षकहरुले व्यक्तिगत वा संगठित रुपमा मानव अधिकारको संरक्षण, प्रवर्द्धन र पालना गर्ने गराउने भनिएको छ । मानव अधिकारको संरक्षण र प्रवर्धन गर्न संघ, सस्था, संगठन खोल्ने वा त्यस्तो संगठनमा सहभागी हुने, मानवअधिकारका बारेमा सूचना प्राप्त गर्ने र प्रचारप्रसार गर्ने भनिएको छ । यस्तै, मानवअधिकारको मान्यता विपरीत भएका वा हुनसक्ने घटनाविरूद्ध शान्तिपूर्ण भेला वा ध्यानाकर्षण गराउन सक्ने एवं मानव अधिकारका राष्ट्रिय वा अन्तर्राष्ट्रिय दायित्वप्रति सरकारलाई जिम्मेवार बनाउन जनमत सिर्जना गर्नसक्ने उल्लेख छ ।

विधेयकले १३ सदस्यीय स्वायत्त प्रदेश मानव अधिकार रक्षक परिषद् गठन गर्ने भनिएको छ । जसमा मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख, विपक्षी दलको नेतासहित मानवअधिकारकर्मीहरु राख्ने प्रस्ताव गरिएको छ । मानवअधिकार रक्षकहरुको हक वा सुविधामाथि बन्देज लागेमा एक महिनाभित्र जिल्ला अदालतमा निवेदन दिन सक्ने मापदण्ड बनाइएको छ ।

विधेयकको मस्यौदामाथि सुझाव दिँदै वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले मानवअधिकार रक्षकको सवालमा विधेयक महत्त्वपूर्ण भएको तर परिषद् अलि भद्रगोल भएकाले छोटो बनाउन सुझाव दिए । मानवअधिकारका लागि शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले परिषद् सदस्यहरु मनोनयनमा ३० वर्षमाथि भन्ने मापदण्ड नराख्न सुझाब दिए । मानवअधिकार आयोगको लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले विधेयकले मानव अधिकारको सुरक्षा र चुनौतीलाई कसरी सुनुवाइ गर्ने भन्ने प्रमुख सवाल रहेको बताउँदै त्यसलाई समेट्न आग्रह गरे । यद्यपि विधेयकले मानवअधिकारको पहिचान सुनिश्चितता गर्ने भएकाले खुशीको कुरा भएको उनले बताए ।

प्रदेशसभा सदस्य रमा अर्यालले स्वतन्त्र रुपमा काम गरेका मानवअधिकारकर्मीहरुको पहिचान गराउने र सुरक्षा दिने सवालमा विधेयक महत्त्वपूर्ण भएको बताइन् । प्रदेशसभा सदस्य दिपा विश्वकर्मा, कमला विश्वकर्मा, तुलसी चौधरी, आइपी खरेल माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती, लेखा समिति सभापति विष्णु पन्थी लगायतले सकभर यो कार्यकालमै विधेयकलाई प्रदेशसभामा लगेर पेश गरेर पारित गर्न कोसिस गर्ने बताए ।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले मानवअधिकारको सुरक्षा र संरक्षणका सवालमा प्रदेश संवेदनशील रहेको बताए । मानवअधिकारका लागि आवाज उठाउने रक्षकहरुको सुरक्षा राज्यको दायित्व भएको बताउँदै उनले विधेयकलाई तत्काल प्रक्रियामा लैजाने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend