• Saturday 25th July 2026

बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० नाघ्याे

बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० नाघ्याे


  • लुम्बिनी रिभ्यू

काठमाडाै ।  बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका सिंगो गाउँबस्तीका एक सय ५० बढी गाउँलेको उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका हुन् । बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराज अधिकारीका अनुसार बिरामीहरुलाई प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ । तर गाउँमा वितरण गरेको औषधिले काम नगरेपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल र मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गएका छन् ।

केही बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ ।

बिरामी भएकाहरुमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ । शनिबार बिहेमा भोज खाएपछि आइतबार, सोमबार र मंगलबारसम्म समस्या बढ्दै गएको स्थानीय पेमा रानाले बताइन् । पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको उनले बताइन् । गाउँमै बिहेभोज खाएकाहरु सबैलाई यस्तो समस्या देखिएको स्थानीय मुक्ति बस्यालले बताए । बगनासकाली गाउँपालिकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि गाउँमा खटाएको छ ।

पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, यम्घाका प्रमुख रामप्रसाद न्यौपाने, दर्लमडाँडाका प्रमुख रेश्मीराज न्यौपाने, खानीगाउँ प्रमुख जीवलाल बस्याल, चापपानीका प्रमुख मोहनलाल घिमिरे, नसिङ स्टाफहरु उमा भट्टराई, चम्पा ढुंगाना, लक्ष्मी बस्याल, ल्याब टेक्निसियन अधिकृत मधु भट्टराई लगायतको टोली गाउँमा उपचारका लागि खटिएको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी, कार्यपालिका सदस्य गीता रेग्मी लगायत वडासदस्यहरु पनि बिरामीको अवस्था बुझ्न गाउँमा खटिएको छ ।

बिरामीलाई स्लाइन पानी चढाउने, औषधि वितरण, जीवन जललगायत स्वास्थ्य शिक्षा दिइएको छ । पानीमा समस्या हो कि भन्ने स्थानीयको आशंका भएकाले स्वास्थ्य कार्यालयले पानीको जाँचका लागि समेत टोली खटाएको छ । बिहेमा झन्डै ४ सय निम्तालु आएको र त्यसमध्ये ९० प्रतिशत बिरामी भएको स्थानीयले बताएका छन् ।

चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख बस्याल, वडाध्यक्ष शेरबहादुर चिदीका साथै स्वास्थ्यकर्मी महेश ढुंगानाले सोमबार पनि घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । धेरैजना बिरामी अत्तालिएर तत्काल मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजका साथै निजी अस्पतालहरुमा पुगेका छन् । स्वास्थ्यकर्मीले प्रशस्त पानी पिउन र नआत्तिन आग्रह गर्दै हिँडेका इकान्तिपुरले जनाएकाे छ ।

उनीहरूले मंसिर १७ गते बिहे भोज खाएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend