
मनिषा ज्ञवाली
तिलोत्तमा , तपाई राजमार्गको यात्रा गर्दै हुनुहुन्छ रु त्यसो हो भने सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देहीको तिलोत्तमा खण्डमा आउनुस् । तपाइले आफ्नो थकान नै भूल्नुहुनेछ । सिद्धार्थ राजमार्गको यो खण्ड सडक विस्तारपछि हराभरा, सुन्दर र रमणीय बनेको छ । रंगीविरंगी फूल र त्यसको सुन्दरताले राजमार्ग आसपासका बासिन्दा खुशी छन् । नयामिल क्षेत्रकी वसुन्धरा भुसालले फुलको सुन्दरताले सडकमा हेर्दा पनि आनन्द लाग्ने बताइन् ।
करिब ५ वर्षअघि बेलहिया बुटवल खण्डको यो राजमार्ग ६ लेनमा विस्तार भएपछि आसपासका रुख काटिए । सट्टामा तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरूवा लगाएको थियो । जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउछन् । मुख्य डिभाइडरमा लगाएका बेगनबेली फूल फुल्दा यात्रा गर्ने जो कोहीको मन लोभ्याउछ । सडक यात्रु कमल खनालले तिलोत्तमा क्षेत्रको सडकमा यात्रा गर्दा थकान पनि भुलाउने बताए ।

धेरै हांगाबिंगामा फुल्ने भएकोले घरको गेट, पर्खाल तथा बारको रूपमा लगाउने बेगनबेली फूललाई तिलोत्तमा नगरपालिकाले नगरफूल घोषणा गर्दै सडकमा लगाएको छ । दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली बन्छ । विद्युत पोल र बिरुवा घेरेर थरीथरीका बत्ती बल्दा यात्रुहरुले आफ्नो थकानसमेत बिर्सन्छन् । बीचबीचमा बनाइएका शान्तिका अग्रदुत गौतमबुद्धका प्रतिमाले यात्रुको मनसमेत शान्त बन्छ । यात्रु लक्ष्मी कोइरालाले यो सडक यात्रा गर्दा भगवान गौतमबुद्धको जन्मस्थलमा पुगेजस्तो शान्त महसुस हुने बताइन् ।
सडक विस्तारले देशभरका अधिकांश सडक आसपासका रुखबिरुवा काटिदा उजाड र उराठ बनेका छन् । आफ्नो क्षेत्रको सडक तथा सार्वजनिक क्षेत्र सुन्दर, सफा र आकर्षक बनाउनु स्थानीय तहको कर्तव्य हो । तिलोमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले वातावरण संरक्षण हरियाली प्रवद्धन गर्न र वातावरण सुन्दर बनाउन राजमार्गसंगै अन्य सडकमा पनि फूल र हरिया विरुवा रोप्न थालेको बताइन् । रातिको समयमा हुने दुर्घटना रोक्न र यात्रुलाई सुरक्षित महसुस गराउन राजमार्ग क्षेत्रमा झिलिमिली बनाएको उनले बताइन् । ‘यसले लुटपाट र दुर्घटनाका घटनासमेत कम गराएको छ,’ उपप्रमुखले भनिन् ।


लुम्बिनी रिभ्यू