
रुकुमपश्चिम। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठुलो मात्रामा भौतिक क्षति भएको छ ।
सोमबार बिहान सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रारम्भिक रूपमा जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएको बताइएको छ । यो तथ्याङ्क अझै बढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले बैठकमा पेस गरेको प्रारम्भिक तथ्यांकअनुसार आठबिसकोटमा सबैभन्दा बढी क्षति भएको छ । बैठकमा आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले नगरपालिकाको १४८ घरमा क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर विष्टले तीन हजार १४६ घर पूर्ण क्षति भएको र ७२२ घर आंशिक रूपमा क्षति भएको बताउनुभयो ।
बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले एक हजार ९८७ घर पूर्ण रूपमा र चार हजार ३७४ घर आंशिक रूपमा क्षति भएको जानकारी गराउनुभयो । मुसीकोट नगरपालिकाभित्र दुई हजार तीनसय घर पूर्णरुपमा क्षति भएको र तीन हजार पाँचसय घरमा आंशिक क्षति भएको नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्णरुपमा क्षति भएको र १०७ वटा घरमा आंशिक रूपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउनुभयो ।

लुम्बिनी रिभ्यू