बुटवल । १६ स्थानीय तह रहेको रुपन्देहीमा दुई स्थानीय तहमा महिलाको उमेदवारी परेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र तिलोत्तमा नगरपालिकामा प्रमुख दलहरुले नै महिलाको उमेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनीमा समाजसेवामा कृयाशिल रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उमेदवारी दिएकी छन् । लुम्बिनीको समग्र विकास, सुशाशन र कुरीति अन्त्यका एजेण्डा लिएर नागरिकका मत तान्ने उनले बताइन् । ‘बुद्धजन्मस्थल लुम्बिनी भएर पनि यहा भौतिक रुपमा धेरै विकास गर्न र सामाजिक परिवर्तनमा काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘म यी कामको अगुवाइ गर्नेछु ।’ मधेशी समुदाय भएको ठाउ“मा महिला प्रमुख पदमा उठ्नु र काम गर्नु चुनौतिपूर्ण भएपनि युवा र पुरुषलाई पनि साथमा लिएर अगाडि बढेको उनले बताइन् । उनी र उनको परिवार केही समयअघिसम्म कांग्रेसमा क्रियाशिल थियो ।
तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा महिलालाई उमेदवार बनाएको छ । पाटीबाट आशा कुमारी चौधरीले प्रमुखमा मनोनयन दर्ता गराएकी हुन् । रूपन्देहीको जिल्ला कमिटि सचिवालय सदस्य हुन् । ४३ वर्षीय चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष पनि हुन् । तिलोत्तमा १३ मडहरा घर भएकी उनी व्यवसायिक रुपमा फैन्सी पसल संचालन गरेकी छन् ।
आफूसंग भौतिक विकासंगै सामाजिक विकासका थुप्रै एजेण्डा भएकाले तिनै एजेण्डा लिएर मतदातामाझ जाने र भोट माग्ने उनले बताइन् । तिलोत्तमामा सुरु राम्रा योजना पूरा गर्ने र भौगोलिक रुपले समानुपातिक विकास गर्ने उनले बताइन् । ‘ माग र आवश्यकताका आधारमा युवाहरुलाई सीप र क्षमता विकास तालिम दिने र बीउ पुजी दिएर स्वदेशमै स्वरोजगार बनाउने अभियान चलाउने छु,’उनले भनिन् । (तस्बिर : सामाजिक सञ्जाल )

लुम्बिनी रिभ्यू