
काठमाडौ। सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज (बिहीबार) कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ । मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ ।
यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अर्घ दिइन्छ । यो अर्घलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अर्घलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अर्घ दिइन्छ ।
षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

लुम्बिनी रिभ्यू