
काठमाडाै। कालीकोटको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् ।
वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो ।
घटना भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरीमाथि पनि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए ।
सुरुमा राम्नीका धनजय चौलागाईँको घरमा विवाद भएको र त्यहाँ उहाँ सहित वर्ष ३३ कि रमिता चौलागाईँ, वडा नं २ बस्ने वर्ष १६ का सोबिन सुनार, वर्ष २९ का मोहन बिक र राम्नी ७ का राजु सुनार बिच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।
स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटवाट हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरी माथि नै आक्रमण गरेको बताउनुभयो । आक्रमणमा परेका प्रहरीको प्राय खुट्टामा चोट रहेको उहाँले बताउनुभयो ।
दुई समूह बिचको झडपमा परेर घाइते भएका सबैको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

लुम्बिनी रिभ्यू