• Saturday 25th July 2026

लैंगिक हिंसा र विभेद विरुद्ध नागरिक जागरण अभियान चलाउन सुझाब

लैंगिक हिंसा र विभेद विरुद्ध नागरिक जागरण अभियान चलाउन सुझाब


  • लुम्बिनी रिभ्यू

बुटवल, लैङ्गिक हिसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धताभन्ने नारासहित शनिबारदेखि लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्वको विश्व्वयापी अभियान सन् १९९१ देखि सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म संचालन हुन्छ । नेपालले २०५४ देखि यो अभियान संचालन गर्दै आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५।८।२ को निर्णय अनुसार हरेक वर्ष मंसिर ९ लाई महिला हिंसा विरुद्वको दिवसको रुपमा मनाउने गरिएको छ । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा विभेद कुरिती अन्धविश्वास अपराध वहिष्करण र बन्चितीकरणलाई अन्त्य गर्दै महिला र पुरुष बीच हुने गरेका सबै किसिमका विभेद र असमनता हटाउने हो ।


अभियानको अवसर पारेर बुटवलका नागरिक अभियन्ताहरुले शनिबारदेखि लैंगिक हिंसा विरुद्ध नागरिक अभियान सुरु गरेका छन् । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले लैंगिक हिंसा विरुद्ध नागरिकमा जागरण र चरीत्र परिवर्तनका अभियान चलाउन आवश्वश्यक सुझाब दिए । उनले लैंगिकताका आधारमा हुने हिंसाले व्यक्ति घर, समाज र राष्ट्रलाई नै प्रभावीत बनाएको बताए ।
उनले दीगो शान्ति र विभेदरहित समाज स्थापनाका लागि लैंगिकताका आधारमा हुने सबैप्रकारका हिंसा र विभेद न्यूनिकरण गर्नुपर्ने बताए । महिलाको सुरक्षा र क्षमता विकासका लागि प्रदेशले लगानी गर्ने जनाए । मन्त्री पाण्डेले लैंगिक हिंसा विरुद्धका ऐन कानुनको प्रभावकारी कार्यान्वयन र अभियान संचालनका लागि नागरिकको अगुवाइ, सहकार्य र खबरदारी आवश्यक रहेको बताए ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले लैंगिक हिंसा विरुद्ध स्थानीय सरकारले टोलवस्तीदेखि महिला र यौनिक अल्पसंख्यकका लागि स्वरोजगार र आत्मनिर्भरताका अभियान चलाइरहेको बताइन् । उनले स्थानीय तहले न्यायिक समिति र मेलमिलाप केन्द्रमार्फत हिंसा विरुद्ध न्याय निरुपण समेत गरीरहेको बताइन् । साहसी कदमका अध्यक्ष, नागरिक अगुवा यौनिक तथा लैंगिक अल्पसंख्यक आनिक रानाले लैंगिक हिंसाका स्वरुप फेरिदै गएकाले हिंसा विरुद्ध महिला, पुरुष र अन्पसंख्यकहरुलाई अपनत्व हुनेगरी अभियान र कार्यक्रम संचालन गर्न आग्रह गरिन् ।


कार्यक्रममा बोल्दै मानव अधिकारका लागि एकल समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले महिलाभित्रको विविधतालाई सम्बोधन संवोधन गर्दै लैंगिक हिंसा न्युनिकरणमा तीन तहकै सरकार र नागरिक समाज लाग्नुपर्ने बताइन्
ं अभियन्ता राधिका भट्टराई र रीता सेनले हिंसा विरुद्धको न्यायिक प्रक्रियालाई सहज बनाउन र पीडितको पुर्नस्थापनामा ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा लैंगिक हिंसाको अवस्था र नागरिक अभियानका बारेमा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल र ओरेक नेपालका झरना अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
शनिबारदेखि नै बुटवलमा लैंगिक हिंसा विरुद्ध प्रतिवद्धता सहितको हस्ताक्षर सुरु भएको छ ।साहसी कदम नेपाल, संचारिका समूह नेपाल , ओरेक नेपाल, मानव अधिकारका लागि एकल महिला समूह, रेडियो मुक्ति, डब्लुडब्लु जे, उद्योग वाणिज्य संघ, बुटवल टुडे दैनिक लगायतका संघसस्थाले कार्यक्रम आयोजना गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend