
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे राजमार्ग निर्माण भएको ६२ वर्षपछि स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ ।
तत्कालीन राजा महेन्द्रको पालामा २०१८ निर्माणको शुभारम्भ गरेको यो सडक ६२ वर्षपछि स्तरोन्नति गर्न ठेक्का आह्वान भएको हो । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्डमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कन्चन गाउँपालिका र कपिलवस्तु जिल्लाकाको वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिका रहेको छ ।
धेरै बन क्षेत्रमा पर्ने यो सडक खण्ड समयमै निर्माणका लागि समयमै निर्माण पूरा हुने विषयमा परियोजना निर्माणदेखि नै प्रश्नचिन्ह उठ्दै आएको छ । एसियाली विकास बैंक(एडीबी)को सहयोगमा बनेको यसको डिजाइन स्वीकृत भएपछि ठेक्का प्रकृयामा गएको हो । पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुनेछन् । यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको हा । जसअनुसार पहिलो चरणमा ५० किलोमिटरको टण्डर आह्वान भएको हो गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्ने काम भइरहेको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया पनि चाँडै सुरु हुने जानकारी दिए ।
उनका अनुसार गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि डीपीआरको काम सुरु भएको छ । परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ । गोरुसिङ्गेचनौटा सडकखण्डको १९ किलोमिटरका लागि विस्तृत इन्जिनियरिङ सर्भेक्षण र स्तरोन्नतिको डिजाइन गर्न र सोही खण्डमा वातावरण मूल्यांकनका लागि स्तर वृद्धि कार्य गर्न तथा सडक र पुलसमेत काम गर्न निर्माण पर्यवेक्षकका लागि विभिन्न ८ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेका थिए। एलईए एशोसियट्स साउथ एसिया आयोजनाको सुपरभिजन र डिजाइनका लागि छनोट भएको थियो। त्यही अनुसार यो परामर्शदातासँग सम्झौता भएको छ। यो परामर्शदातालाई ८ वर्षको लागि आयोजना हेर्न जिम्मेवारी हुनेछ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पटक पटक यो बाटो निर्माणको योजनालाई चुनावी एजेण्डा बनाएको र बिहीबार टेण्डर आव्हान भएको खुसीयाली उनले सामाजिक सन्जालमा राखेलगत्तै धेरै स्थानीयले खुसीसँगै समयमै निर्माण पूरा नहुनेमा आशंका व्यक्त गर्दै खबरदारी गरेका छन् ।
उनीहरुले बुटवल–नारायणगढ सडकखण्डको अस्तव्यस्तताले सडकयात्रुलाई हैरानी भएको जनाउँदै निर्माण हुने ठाउँमा मात्रै भत्काउन र कति समयमा सकाउने हो त्यसमा खबरदारी गर्न आग्रह गरेका छन् । उनीहरुले सडक निर्मांणका लागि भत्काउनुअघि साइड किलियरेन्सका काम सकाउन आग्रह गरेका छन् ।
नेता पौडेलले सामाजिक सन्जालमा लेखेका छन्–‘स्थानीय जनताको चाहना र राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै लामो समयदेखि हामीले गरेको प्रयास अनुरूप आज पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडकखण्ड डेडिकेटेड चारलेन (खास ठाउँमा आठलेन, छलेन, अण्डरपास र ओभरपास समेत)मा स्तरोन्नति गर्नका लागि वोलपत्र आव्हान भएको छ । यो हामी सबैका लागि खुसीको बिषय हो ।, तर, हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ । विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस् आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् । स्वस्थ एवम् पारदर्शी प्रकृयाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् ।’
उनले भनेका छन्–‘छनोट भएको कन्सल्ट्यान्ट कम्पनी एलइए एशोसियट साउथ एशिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परीक्षण र सहजीकरण गरोस् । त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर सडकको डिटेल डिजाइन शीघ्र सम्पन्न गरी निर्माणकार्य आरम्भ गरियोस् । बुटवलको तिनाउनदीमा सिक्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी आरम्भ गरियोस् । जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्तीकमजोरी हुँदा खबरदारी गरिने जानकारी गराउन चाहन्छु ।’

लुम्बिनी रिभ्यू