काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्र विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताउनुभएको छ ।
नेपाल बिज्ञापन सङ्घ (आन) को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायीको हित गर्ने बताउनुभयो ।
आर्थिक संकुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उहाँले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञापन बजारमा आएको संकुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ ।’
आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने नै छ भन्ने विश्वास गर्न त सकिन्छ, साथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिष्पर्धी बनाउँदै लैजान पनि ध्यान दिनुपर्ने अवस्था छ उहाँले भन्नुभयो । आफूले सञ्चार मन्त्रालय सम्हालेपछि मिडियाक्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिनुभयो ।
सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वभाविक रुपमा कमिसनको दुरुपयोग हुनेगरेको सूचनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै अब विज्ञापन नियमावली संशोधनमार्फत मिडियाको बिलबिजक र विज्ञापन एजेन्सीको शुल्कसमेत कागजात पेश गरेपछि मात्र भुक्तानी हुने प्रावधानको थालनी गरिएको बताउनुभयो । यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीहरुले पाउनुपर्ने सेवा शुल्क पारदर्शी रुपमा पाउने वातावरण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विज्ञापन सामग्रीहरु लक्षित समुदायमा केन्द्रित नगरी औपचारिकताका लागि मात्र सरकारी सूचना प्रवाह गर्ने देखिएको उल्लेख गर्दै मन्त्री शर्माले कुनै निश्चित जिल्लाको निश्चित पालिका वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिनेगरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी रिभ्यू
