• Saturday 25th July 2026

व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा जिताउन लाग्नाेस् : एमाले उपाध्यक्ष पौडेल

व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा जिताउन लाग्नाेस् : एमाले उपाध्यक्ष पौडेल


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुद्धिजिवीहरूलाई निर्वाचनमा होमिन आग्रह गरेका छन् ।

एमाले बुद्धिजिवी तथा पेशागत उपसमितिले शनिवार बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले आइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरी खटिएर लाग्न निर्देशन दिए । बुद्धिजिवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे ।

‘अब निर्वाचन आउन धेरै दिन बाँकी छैन, सम्पूर्ण आफ्ना व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा सबै उम्मेदवारहरूलाई जिताउन लाग्नुहोस्,’ उपाध्यक्ष पौडेलले भने, ‘आजदेखि मतगणना शुरू नहुँदासम्म तपाईंहरू लागे मतदाताहरू ‘कन्भिन्स’ हुन्छन् । पार्टी सबै उम्मेदवार जिताउने प्रमुख दायित्व पेशागत र बुद्धिजीवी क्षेत्रका साथीहरूमा छ ।’

पौडेलले बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि चुनावी तालमेल भएको भन्दै मतदाता शिक्षा आवश्यक रहेको समेत बताए ।

बुटवलमा निर्माणाधीन ठूला विकासका पूर्वाधारहरू सम्पन्न भए यहाँको विकास लगभग सकिने समेत बताए । उनले एमाले जनप्रतिनिधि निर्वाचित भएपछि शासक होइन सेवक बनेर काम गर्दै जनता र सरोकारका विषयमा काम गर्दै आएको बताए ।
एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नगरको विकास र भिजन एमालेसँग मात्र रहेको बताए । नगरलाई नयाँ पहिचान समृद्ध बुटवलको नारा एमालेले मात्र पूरा गर्न सक्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला सदस्य थर्क बहादुर बाह्रघरेले तालमेलले एमाले र जनमुक्तिको जित सुनिश्चित रहेको बताए । पेशागत तथा बुद्धिजीवी परिचालन समितिका संयोजक खगराज शर्माको अध्यक्षता एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य इन्दिरा अर्यालको स्वागत तथा पेशागत तथा बुद्धिजीवी परिचालन समितिका सह–संयोजक रमेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend