बुटवल – लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पीडितमैत्री अपराध अनुसन्धान गर्न प्रहरी अधिकृतहरुलाइ निर्देशन दिएका छन् ।
उनले कुनै पनि अपराधी नछाड्ने तर निअपराधी नफस्ने गरि अनुसन्धानलाई भरपर्दो बनाउन आग्रह गरे ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र लुम्बिनी प्रदेश प्रहर कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान तथा समीक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री पाण्डेयले आधुनिक किसिमका अपराध, साइबरक्राइम, आत्महत्या लगायतका अपराध न्यूनीकरण गर्न प्रहरीले थप मेहनत गर्नुपर्ने बताए ।
गोष्ठीमा बोल्दै अतिरीक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले आपराधिक गतिविधिमा नया र उन्नत प्रविधिको प्रयोगबाट अपराधका घटना हु“दा प्रहरीलाई अनुसन्धानमा समस्या देखिन थालेको बताए । उनले साइबर क्राइमका घटना सबैभन्दा धेरै बढ्दै गएको तर, प्रहरीलाई समयानुकूल स्रोत साधनको उपलब्धता र प्रविधि नहुदा प्रभावकारी अनुसन्धानमा चुनौती थपिएको जनाए ।
उनले अपराध, लागू औषध, आतंकवाद लगायतका मुद्धा अनुसन्धानमा नेपाल प्रहरीले विश्वमै नाम कमाएको भएपनि उनले आधुनिक प्रविधिको अपराध भने हाम्रा सामुपनि चुनौति बनेर आएको जनाए ।
प्रहरीको अपराध अनुसन्धान विभागका वसन्त रजौरेले अपराध पछि पहिलोपटक घटनास्थलमा पुग्ने प्रहरीले मसिनोगरि प्रमाण संकलन गर्ने हो भने अपराध अनुसन्धान र नियन्त्रणमा निकै सहज हुने बताए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख तथा डिअाइजी उमेशराज जोशीले कुनै पनि अपराधका घटना अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी चुक्न नहुने बताए । उनले अनुसन्धान हुन नसकेर फाइल थन्किदा प्रहरीको कार्यशैलिमाथि नै प्रश्न उब्जने भएकाले प्रहरी अनुसन्धान र भगौडा अभियुक्त पक्राउमा थप शक्ति लगाउन आग्रह गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अपराध अनुसन्धान मात्र होइन समाजमा शान्ति स्थापना गर्ने जिम्मेबारी पनि प्रहरीमा रहेको बताउदै सिमित स्रोतका बाबजुद पनि काम गरेको बताए । उनले अपराध अनुसन्धानमा प्रहरीले काम गर्ने सीप र प्रविधि मात्र होइन इच्छाशक्ति पनि बढाउन आग्रह गरे ।

रुपन्देही बारका उपाध्यक्ष विष्णुप्रसाद भुसालले प्रमाण संकलन, मुद्धाअभियोजन, पीडितको सुरक्षा र संरक्षण प्रहरीको पहिलो भूमिका हुनुपर्ने बताए । उनले तथ्य र तथ्यांकमा रहेर अपराध अनुसन्धान गर्न र पीडितमैत्री वातावरण बनाउन सुझाब दिए ।
अपराधका स्वरुप र प्रविधि फेरिदै गएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने र अनुसन्धानलाई उद्धेश्यमूलक बनाउने भन्नेबारेमा सुझाब संकलनका लागि प्रहरी प्रधान कार्यालयले अहिले प्रदेशस्तरीय गोष्ठी तथा सुझाब संकलन थालेको हो । सातवतै प्रदेशको अवस्था बुझ्ने र त्यसअनुसार वार्षिक कार्ययोजना बनाउने प्रहरीले जनाएको छ । गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रहरी प्रमुख, मुद्धा चल्ने इकाइका प्रमुख र अपराध अनुसन्धान अधिकृतहरु सहभागी थिए ।


लुम्बिनी रिभ्यू