• Saturday 25th July 2026

लुम्बिनी एक्स्पो : १० लाख दर्शक र ५० करोड कारोबारकाे लक्ष्य पूरा

लुम्बिनी एक्स्पो : १० लाख दर्शक र ५० करोड कारोबारकाे लक्ष्य पूरा


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते विहिवारबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्र्राष्ट्रिय व्यापार मेला बुधवार सकिएको छ ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरिएको एक्स्पोमा १० लाख दर्शक भित्राउने र ५० करोड कारोबार गर्ने लक्ष्य पूरा भएको आयोजकको भनाइ छ ।

एक्स्पो समापन गर्दै लुम्बिनीका निवर्तमान मुख्यमन्त्री लिला गिरीले शिथिल बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउदै वर्तमान सरकार दिशाविहिन बन्दा विकासका काम अगाडी बढ्न नसकेको बताए ।

आर्थिक समृद्धिको मुद्दालाई अगाडी बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने उल्लेख गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मेला सफलतापूर्वक सम्पन्न भएको बताउदै आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानिय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए ।

प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारी देखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे ।

उनले एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो ।

सम्पूर्ण स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितिय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।

त्यसैगरि स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रालि पुरस्कृत भएको छ ।

समापन कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटा लगायतले बोलेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend