• Saturday 25th July 2026

सामाजिक तथा मानविय विकासमा नागरिक हातेमालो जरुरी : पूर्व मुख्यमन्त्री लीला गिरी

सामाजिक तथा मानविय विकासमा नागरिक हातेमालो जरुरी : पूर्व मुख्यमन्त्री लीला गिरी

सरकारले भौतिक मात्र होइन मानविय र सामाजिक विकासमा पनि ध्यान देओस् ः सरोकारवाला


  • लुम्बिनी रिभ्यू

बुटवल, भौतिक विकाससंगै मानविय र सामाजिक विकासमा पनि ध्यान दिन सरोकारवालाहरुले माग गरेका छन् ।
मानव अधिकार एलान्सले शनिबार बुटवलमा आयोजना गरेको मानव अधिकार सम्मेलनमा बोल्ने वक्ताहरुले भौतिक विकासमा राम्रै रहेको लुम्बिनी प्रदेश शिक्षा, स्वास्थ्य, समावेशीयता लगायतका सामाजिक विकासमा धेरै पछाडि रहेको बताए । जनगणना २०७८ को तथ्यांकले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै लैंगिक हिंसा, मातृमृत्यु, बालमृत्यु, कुपोषण रहेको देखाएको थियो । विद्यालय छोड्ने दर, जातिय विभेद, कुरीति तथा कुसस्कारजन्य हिंसा समेत लुम्बिनीमा बढी रहेको देखाएको बताउदै मानवअधिकारकर्मीहरुले यस्ता समस्या समाधान गर्न पहल थाल्न आग्रह गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री लीला गिरीले आफू सरकारमा छदा सामाजिक विकासका लागि थुप्रै मापदण्ड बनाएको बताउदै वर्तमान सरकारले त्यसलाई अगाडि बढाउनुपर्ने बताए । सामाजिक तथा मानविय विकासमा नागरिक हातेमालो समेत जरुरी पर्ने उनले जनाए ।
पूर्व मुख्यमन्त्री लिला गिरीले सामाजिक रुपान्तरणमा सामाजिक सस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै मानव अधिकार वर्गीय हुने भएकोले पछाडि परेका सबै वर्ग र समुदायको पक्षमा पैरवी हुनुपर्ने बताए । उनले समाज रुपान्तरणमा हामी सबै जवाफदेही र जिम्मेवारीका साथ लाग्नुपर्छ भन्दै तीन तहका सरकारलाई कानुन बनाउन दबाब दिने र बनेको कानुनको कार्यान्वयन गर्ने अनि आफूले पनि कतिपय मामिलामा मानवअधिकारलाई आफ्नो जीवनश‌ैली बनाउदै जनतामा मानवअधिकारको आभास दिने गरी लाग्नुपर्ने जनाए ।


कार्यक्रममा संविधान सभाका सभासद राधाकृष्ण कँडेलले नेपाली समाजमा अराजकता उत्पन्न भएको बताए । यस्तो अवस्थामा पनि एलाइन्सले आशालाग्दो काम गरिरहेकोमा धन्यवाद दिए ।
कार्यक्रममा मानवअधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले जुन समुदायको मुद्दा हो, त्यही समुदायको प्रतिनिधित्वबाट मात्र समस्याहरु बाहिर आउन सक्ने भन्दै कार्यक्रम सहभागितामा पनि समानुपातिक समावेशी हुनुपर्ने बताइन्। उनले विभेद, शोषण र अपमानको विरुद्ध मानवअधिकारको पक्षमा सशक्त रुपमा लाग्ने प्रण पनि गरिन् ।
कार्यक्रममा महिला अधिकार, विभेद, छुवाछुत लगायत विभिन्न विषयमा प्यानल छलफलभएको थियो । प्यानल छलफको सन्चालन इन्दिरा अर्यालले गरेकी थिइन् भने कार्यक्रममा मानवअधिकार आयोगका अधिकृत दिपक ठाकुरले मानव अधिकारको चुनौती र कार्यान्वयनमा देखिएका समस्याहरुको अवस्था, अधिवक्ता इन्दिरा आचार्यले महिला हिंसाको अवस्था र न्यूनीकरणको उपाय, शिक्षा पत्रकार कृष्ण मल्लले नेपालमा पछाडि पारिएका बालबालिकाको शिक्षामा पहुँचको समस्या र समाधानका उपाय र अपाङ्गताको पक्षबाट सावित्रा घिमिरेले भोग्न परेको सामाजिक अपमान, त्यसको न्यूनीकरणका उपायहरु बताएका थिए ।
सम्मेलनले १७ बुँदे बुटवल घोषणा पत्र जारी गरेको छ। कार्यक्रम एलायन्सका अध्यक्ष वसन्त गौतमको अध्यक्षता, कोषाध्यक्ष मीनाक्षी न्यौपानेको स्वागत र सचिव दामोदर घिमिरेको सन्चालनमा भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend