बुटवल ।
नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानबाट आएका सुझावलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्रमार्फत् जानकारी गराएको छ ।
समुदायबाट आएका सुझाव र गुनासो संकलन गर्ने अभियानमा खटिएको कांग्रेसको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्रमा बाटोघाटो, सिँचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था, रुकुम पूर्वमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको, बैंकबाट लुटिएका सुनवापत क्षतिपूर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।
यसका साथै पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था गर्नुपर्ने, रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरू विदेशिएको र त्यसलाई रोक्न उद्यमशीलता विकास गर्न रोजगारमूलक तालिम एवम् बीना व्याज ऋण प्रदान गर्नुका साथै उत्पादित सामाग्री बजार ब्यवस्थापन गरियोस भन्ने माग गरिएको छ ।
यसैगरी, अर्घाखाँचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न, प्युठान,अर्घाखाँचीलगायत जिल्लामा सुरु गरिएको एक घर एक धारा अभियानअन्तर्गत सरकारी, स्थानीय समुदायले पूरा गरेको कामको अझै भुक्तानी हुन नसकेकाले तत्काल भुक्तानी गर्न माग राखिएको छ । किसानका लागि समयमै मलखाद, बीउबीजनको व्यवस्था माग गरिएको छ ।
सिँचाइको समस्या रहेको जिल्लाहरुमा सिँचाइको व्यवस्था गर्नुपर्ने, लुम्बिनी प्रदेशअन्तर्गत पहाडी जिल्लाहरूमा संचालित अधिकांश क्याम्पस भवनहरू जीर्ण अवस्थामा रहेकाले तिनको मर्मत सम्भार र पुर्नःनिर्माणका साथै प्राध्यापकहरूको तलवको सुनिश्चता गर्न माग राखिएको छ ।
पाल्पाको भगवती मन्दिर, रानीमहललगायतका पर्यटकीय महत्त्वका केन्द्रहरूको संरक्षण गरी प्रचार–प्रसार गरियोस् भन्ने माग नेपाली कांंग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।
मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशमको समुदायमा कांग्रेस अभियानका संयोजक डाक्टर डिना संगौलाले बुझाएको ज्ञापनपत्रमा महिला हिंसा, बालविवाह तथा दाइजोप्रथालाई नियन्त्रण गरियोस्, जंगली जनावरहरू निलगाई, बँदेल नियन्त्रण गरियोस, जीर्ण सडकहरूको मर्मत सम्भार गरियोस्, लुम्बिनी प्रदेशमा संचालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिइयोस्, प्रदेश सरकारले साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट ब्यापार व्यवसाय गर्ने वातावरण निर्माण गरियोस्, गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन पुल पटक पटक भत्कीएर खोलाले बगाएकाले त्यस पुलको पुर्न निर्माणका लागि सुनिश्चित गरियोस्, प्रदेश निजामति नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन अनुरोध गरिएको छ ।
क्रमागत बजेटमा बजेट सुनिश्चता गरियोस लगायत १४ वटा बुँदासहितको ज्ञापनपत्र मुख्यमन्त्री चौधरीलाई बुझाउन समुदायमा कांग्रेस अभियानअन्तर्रगत लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, रुकुमपूर्व, कपिलवस्तु, नवलपरासी, प्युठान र दाङ जिल्लाको जिम्मेवारी पाएका कांग्रेस केन्द्रीय सदस्य डाक्टर डिना संगौलाको नेतृत्वमा नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहकी थिइन् । ज्ञापनपत्र बुझ्दै पार्टी सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आबश्यकताको प्राथमिकतालाई समेटर बुझेको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
साथै प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारिस गर्ने चौधरीले बताए ।

लुम्बिनी रिभ्यू