बुटवल, परम्परागत उर्जा र आयातीत इन्धनको खपतलाई कम गरी मुलुकभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न सरकारले राष्ट्रिय कार्ययोजना तयार गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय कार्ययोजना र सरकारी लक्ष्य पूरा गर्न पहिलो पटक सोमबार बुटवलमा सरोकारवालाबीच लुम्बिनी प्रदेश स्तरीय विद्युतीय चुलोको प्रवर्द्धन अभियान कार्यक्रम गरेकोे छ। प्रदेश सरकार र स्थानीय तहलाई विद्युतीय चुलोको विकास र विस्तारमा क्रियाशील बनाउन तथा विद्युतीय चुलोको माग, आपूर्ति, उपयुक्त वातावरण र वित्तीय क्षेत्रका प्राथमिकताका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।
वातावरण संरक्षण, स्वास्थ्य र महिला सशक्तीकरणमा विद्युतीय चुलोको प्रयोग निकै उपयोगी हुने भएकाले यसको प्रवर्द्धनका लागि तीन तहकै सरकारले नीति योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने सरोकारवालाहरुले बताए । भरपर्दो विद्युतीय सेवा र चुलोमा सहुलीयत दिन पनि उनीहरुले माग गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन बढ्दै गएकाले विद्युत् खपत बढाउन र आयातीत इन्धनको निर्भरतालाई कम गर्न विद्युतीय चुलो महत्वपूर्ण विकल्प रहेको बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातीत इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएकाले विद्युतीय चुलो प्रविधिलाई विस्तार गर्दै जानुपर्ने बताए ।
सामुदायिक विद्युत् उत्पादक राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले भरपर्दो, गुणस्तरीय र विपन्न जनताले पनि खपत गर्नसक्ने विद्युत् आपूर्तिको सुनिश्चित गरेर प्रत्येक घरधुरीमा विद्युतीय चुलो पुर्याउन माग गरे । उनले नेपालको आर्थिक समृद्धिका लागि स्वच्छ ऊर्जाको प्रयोग आवश्यक रहेको बताउदै विद्युतीय चुलोको प्रवर्द्धनमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए ।

राष्ट्रिय नवीकरणीय उर्जा कार्यक्रमका टीम लिडर सुमन बस्नेतले विधुतीय चुलोका लागि बजार बिस्तार र आपूर्ति गर्न समस्या भएकाले चुलो निर्माण र बजारीकरणमा निजी क्षेत्रलाई पनि भूमिका दिनुुपर्ने बताए ।
नेपालमा अहिले पनि ६८ प्रतिशतभन्दा बढी घरधुरीका बासिन्दाले बायोग्यासको प्रयोग गरीरहेका छन् । यसले वातावरण प्रदूषण र जनस्वास्थ्यमा असर पर्नुको साथै एलपी ग्यासको खपत तीव्र रूपमा बढेको छ । विद्युतीय चुलोे प्रवर्द्धन अभियान लुम्बिनी हुदै अन्य प्रदेशमा जानेछ ।

लुम्बिनी रिभ्यू