बुटवल, रुपन्देहीको देवदह नगरपालिका १० चरंगेको त्रिशूली खोलामा डुबेर एक विद्यार्थीको ज्यान गएको छ ।
खोलामा डुबेर बिहीबार नविन माध्यमिक विद्यालय बुटवलका विद्यार्थी सिलव रायमाझीको मृत्यु भएको हो । रायमाझी साथीहरुसँगै घुम्न गएका थिए । पाल्पा घर भएका उनी तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा बसेर पढ्दै आएका थिए । उनी अन्य ६ जना साथीहरुसँगै घुम्न गएको र गर्मी भएपछि पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए ।
साथीहरुले उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । पौडी खेलेर फर्किने क्रममा शरीरमा हिलो लागेको देखेपछि सिलव पखाल्न भन्दै पुनःखोलामा गएपछि चिप्लिएर डुबेको सँगै गएका साथी बिप्लव पुरीले बताए । प्रहरीले पुरीसहित अन्य ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

लुम्बिनी रिभ्यू