• Saturday 25th July 2026

१३ औँ पटक मन्त्रिपरिषद् हेरफेर,नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

१३ औँ पटक मन्त्रिपरिषद् हेरफेर,नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण


  • लुम्बिनी रिभ्यू

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो मौजुदा मन्त्रिपरिषद्‍ फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गर्नुभएको हो । नव नियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । कार्यभार पछि रोक्ने गरी नवनियुक्त तीन मन्त्रीले शपथ लिनुभएको हो ।

२०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएपछि १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend