• Saturday 25th July 2026

नयाँ सत्ता गठबन्धन : यस्ता छन् ८ बुँदे सहमति

नयाँ सत्ता गठबन्धन : यस्ता छन् ८ बुँदे सहमति


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो ।
राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख छ ।
यस्तै रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन सहमतिपत्रमा उल्लेख छ।
यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।
यस्तै सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका माधारमा अविलम्ब टुंग्याउने गरी सहमति पनि भएको छ ।
यसैगरी संङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने समेत सहमतिपत्रमा उल्लेख छ।
सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साका न्यूनतम कार्यक्रम तयार गर्ने, सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने तथा राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि सहमति जनाइएको छ ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend