• Saturday 25th July 2026

लुम्बिनीमा एकैदिन साढे १२ सय जनालाई प्रव्रज्या

लुम्बिनीमा एकैदिन साढे १२ सय जनालाई प्रव्रज्या

प्रव्रज्या ग्रहण गरेपछि उनीहरु अब श्रामणेर अर्थात् अल्पकालीन भिक्षु बनेका छन् ।


  • लुम्बिनी रिभ्यू

लुम्बिनी, बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा एकैदिन साढे १२ सय जनालाई प्रव्रज्या प्रदान गरिएको छ । बुद्ध दर्शनलाई व्यवहारमा अनुशरण गराउन शनिबार एकैदिन विभिन्न मुलुकका बुद्ध धर्म अनुशरण गरेका १ हजार २ सय ५० विभिन्न उमेर समुहका व्यक्तिलाई प्रव्रज्या प्रदान गरिएको हो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरु अब श्रामणेर अर्थात् अल्पकालीन भिक्षु बनेका छन् ।
बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उनीहरु श्रामणेर बनेका हुन् । उनीहरुलाई पहेँलो चिवर प्रदान गरिएको थियो । यसरी श्रामणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षा सम्बन्धी कक्षा लिएका थिए ।
प्रव्रज्या कार्यक्रमका संयोजक भिक्षु प्रज्ञामूर्तिले यसरी प्रवज्जित श्रामणेर बनेका व्यक्तिलाई भिक्षाटनको महत्व बुझाउन १० किलोमिटर धम्म यात्रामा सहभागी गराइने बनाए । उनका अनुसार शनिबार साँझ सबै श्रामणेर र यहाँ आएका स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाको सहभागितामा मायादेवी मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम रहेको छ ।

थाई भिक्षु महासंघले सञ्चालन गरेको कार्यक्रममा नेपाल भिक्षु महासंघले सघाएको हो । लुम्बिनीमा भने यो कार्यक्रम छैटौंपटक आयोजना गरिएको हो । यहाँको अनुशरण गर्दै अहिले इन्डोनेशिया र बंगलादेशमा समेत आयोजना भइरहेको भिक्षु प्रज्ञामूर्तिले जनाए । उनले भिक्षु जीवनमा प्रवेशकालागि २० वर्ष उमेर, शिक्षा र स्वास्थ्यको राम्रो ज्ञान र परिवारका सदस्यको अनुमति आवश्यक हुने बताए ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा शनिबार अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयाण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुले अल्पकालीन भिक्षुलाई चीवर प्रदान गरेका थिए ।सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नु पर्नेछ । गत फागुन १६ गतेदेखि सुरु प्रव्रज्यामा लुम्बिनीमै आएर १ हजार २ दुई सय ५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन् ।

कार्यक्रम निर्देशक तथा लुम्बिनी बिकास कोषका बोर्ड सदस्य राजेश शाक्यले यस्ता कार्यक्रम निरन्तर आयोजनाले पर्यटन प्रवर्द्धन हुने बताए । यो कार्यक्रमका लागि स्वदेश र विदेशबाट आएका व्यक्तिका कारण लुम्बिनीका होटलमा पर्यटक बढेको जनाए ।

यस्ता कार्यक्रमलाई निरन्तरता दिन लुम्बिनी बिकास कोष तयार रहेको उनले बताए । उनका अनुसार सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार १ सय १२ जना, सन् २०१९ मा एक हजार १ सय १९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइसकिएको शाक्यले बताए । यसपटक मुलुकका २० भन्दाबढी जिल्लाबाट सहभागिता छ । चैत ८ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

श्रामणेर बनाउने कार्यक्रमले बुद्ध शिक्षा र धर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनीस्थित राजकीय थाई विहारका प्रमुख भिक्षु सुफोथले बताए । अहिले थाइल्याण्डबाट भैरहवामा सिधैं उडान नभएकाले धर्मावलम्बी भारत भएर आउनु परिरहेको उनले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend