अमृता अनमोल
बुटवल– नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो ५ वर्षमा साइबर हिंसा अर्थात् अनलाइन अपराधका घटना ६ गुणाले वृद्धि भएको छ।’ हुनपनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय एक निवेदन आएका थिए । यो संख्या बढेर गतआर्थिक वर्ष २०७९÷८० मा नौ हजार १३ निवेदन परे । सबैभन्दा धेरै अनलाइन हिंसामा महिला र बालबालिकामाथि भएका उजुरी छन् । महिला बालबालिकाका धेरै उजुरीमा जिस्काउने, प्रेम प्रस्ताव वा यौन प्रस्ताव नमान्दा धम्काउने, नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने लगायत छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी हुने चरित्र हत्या, गालीगलौज, डरधम्की जस्ता गतिविधिले महिला तथा बालबालिकाको मानसिकता र जिवनयापनमा ठूलो असर पारेको देखिन्छ ।
अनलाइन उपकरणको दुरुपयोगबाट सर्वसाधरण मात्र होइन सार्वजनिक छवि भएका, प्रशाशक, राजनीतज्ञ, मानवअधिकार रक्षक, पत्रकार र सामाजिक अभियन्ता महिला समेत हिंसाको जोखीमा छन् । त्यस्ता महिलाले कुनै विषयमा आफ्नो विचार वा टिप्पणी व्यक्त गरेकै कारण उनीमाथि सामाजिक संजालमार्फत चारित्रिक दोष लगाउने, धम्काउने र नङ्याउने क्रम सुरु हुन्छ । सामाजिक संजालमा अश्लील गालीगलौज मात्र होइन बलत्कार गर्ने र ज्यान मार्नेसम्मको धम्की आउने उनीहरुको अनुभव छ ।
इन्टरनेटको बढ्दो प्रयोगले मानिसका धेरै क्रियाकलाप अनलाइनमा रुपान्तरण भएका छन् । अनलाइनबाट जतिजति क्रियाकलापहरु बढ्दैछन् त्यति नै त्यसबाट हिंसा बढ्दै गएको छ । सामान्य रुपमा पनि कसैको प्रेम प्रस्ताव स्वीकार नगरे बेइज्यत गर्ने, कुनै शब्द वा भनाइको ट्रोल बनाउने क्रम असाध्यै बढेको छ । अनलाइनका प्याटफमहरुको प्रयोग गरेर डरत्रास देखाउने, धाकधम्कीका सन्देश पठाउने, सहमतीवना निजी पहिचान र यौनजन्य सामाग्री पठाउने लगायतका गतिबिधीले महिलामाथि अनलाइन हिंसा बढाइरहेको छ । अनलाइन अपराध गर्नु गलत मानसिकताको उपज हो । हिंसामा परेका व्यक्तिको नजरबाट हेर्दा विद्युतीय साक्षरता नहु“दा अर्थात् अनलाइन कसरी प्रयोग गर्ने भन्ने नजान्दा पनि भएका देखिन्छन् । कतिपयलाई सामाजिक संजालमा मैले के लेख्दै छु, के च्याट गर्दै छु, यसलाई मैले मेट्दैमा सबै प्रमाण मेटिदैन भन्ने थाह हु“दैन । लेखिएका कुराले भोलि कानुनी झमेलामा फस्छु कि भन्ने जानकारी पनि छैन । यसले झन् समस्यामा धकेलेको छ ।
अनलाइन हिंसाका स्वरुप एकै प्रकारका छैनन् । फरक फरक छन् । यसले जो जतिबेला पनि हिंसामा पर्ने देखिन्छ । तर विद्यमान शक्ति संरचना र परम्परागत धारणाका कारण धेरै र सहजै हिंसा महिला र बालबालिकामाथि भएको पाइन्छ । संख्यात्मक रुपमा पिडा दिने धेरै पुरुष भेटिन्छन् । पितृसत्तात्मक सोचका कारण पुरुष पीडक बनेका हुन् । अपेक्षाकृत व्यवहार नमिलेमा महिलामाथि अनलाईन हिंसा सुरु गरिहाल्ने एकखाले जमात छ । त्यो जमातले फरक फरक तरिकाले महिला तथा बालबालिका हिंसा गरिहेको हुन्छ ।
अनलाइन माध्ययमको दुरुपयोगले मानव बेचबिखनको जोखीम पनि बढाएको छ । सामाजिक संजालबाट साथी बनेर प्रेमको नाटक गर्ने, घुम्न लैजाने, पढाइदिने, मोबाइल तथा लुगा किनिदिने, रोजगारीमा लगाइदिने जस्ता प्रलोभन देखाएर वयस्कहरुले बालबालिका तथा किशोरीको अवैध ओरासारपसार र बेचबीखन गर्ने पाइएको मानवअधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ । प्रहरीकै तथ्यांक हेर्ने हो भनेपनि अवैध ओरासारपसार र बेचबीखनमा पर्ने महिला र बालिका धेरै छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आर्थिक वर्ष २०७९÷०८० मा मानव बेचबीखन तथा अवैध ओसारपसारका १५७ उजुरी आएका थिए । त्यसमा २१० महिला थिए । धेरैले अनलाइन प्याटफमका माध्ययमबाट चिनेको वा योजना बनाएको बताएका थिए ।
डिजिटल अधिकारमा काम गर्ने अन्तराष्ट्रिय संस्था ‘बडी एन्ड डाटा’ले सन् २०२३ मा गरेको अनलाइन हिंसा सम्बन्धित सर्वेक्षण गरेको थियो । त्यसमा ८६ प्रतिशत महिला तथा सीमान्तकृत समुदायले आफूले कुनै न कुनै प्रकारको अनलाइन हिंसा भोगेको बताएका थिए । महिला त्यसमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक र सिमान्तकृत समुदायमाथि धेरै हिंसा भएको छ । उनीहरुले आफूमाथि भएका हिंसा तत्काल बताउन नसक्दा भयावह रुपमा बाहिर निस्केको बताइएको छ । अनलाइन हिंसा व्यक्त भन्दा अव्यक्त धेरै छन् । प्रहरीमा पुग्ने भन्दा नपुग्ने धेरै छन् । युएन वमनको प्रतिवेदन अनुसार विश्वमा तीन महिलामध्ये एक जनाले शारीरिक तथा यौनजन्य हिंसा भोगीरहेका छन् । सामाजिक संजालको पहुंचमा रहेका सबैजसो महिला र युवतीले अनलाइन हिंसाको सामना गर्छन् । यसले महिलामाथि हुने हिंसाको स्वरुप र ढा“चा अझ बढ्न सक्ने देखिने बताइएको छ ।
हुनपनि, सामाजिक सञ्जालमा अनावश्यक भावना र कुण्ठा यति बेसुर पोखेका भेटिन्छन् कि साथीसंगतीकै महिला बालबालिका पनि त्यसमा पर्छन् । आफूमा रहेको यौन उन्माद र कुण्ठा उनीहरुमाथि खन्याएका हुन्छन् । यसबाट वयस्क युवती मात्र होइन किशोरी र पाका महिलासमेत प्रताडित भएका छन् । प्रताडना व्यक्त भन्दा अव्यक्त धेरै छन् । सक्नेले प्रतिकार गरेका छन् । नसक्ने कतिपय सामाजिक सञ्जालबाटै बाहिरिएका छन् । हिंसाका कारण मानसिक समस्या बढ्ने र आत्महत्या समेत बढेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन हेरौं । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि शारिरीक हिंसा भोगेको बताएका छन् । ६ प्रतिशत महिलाले गर्भावस्थामा हिंसा महसुस गरेका छन् । अनलाइन दुरुपयोग बढीरहे यो संख्या अझ बढ्ने देखिन्छ ।
कहिल्यै नदेखे नजानेको व्यक्तिले पनि सामाजिक संजालमार्फत साथी बनौं भन्ने र साथी बनीहाल्ने परिपाटीले पनि अनलाइन हिंसा निम्त्याएको छ । यस्तो हिंसा विद्युतीय साक्षरता नभएका महिला, बालबालिका, किशोरी त्यसमा पनि अपांगता भएका, सिमान्तकृत र यौनिक अल्पसंख्यक धेरै पर्छन् । धेरैको अनुभवमा अनलाइन माध्ययमबाट साथी बनेपछि बोलचाल सुरु हुन्छ । व्यक्तिगत कुरा गर्छन् । मलाई तिमी मन प¥यो । तिम्रो फोटो मनप¥यो । तिम्रो सरीर मन प¥यो । बोली मन प¥यो भनेर हिंसाको शीलशिला सुरु हुन्छ । कालु, काली, सानी, कान्छी जस्ता शब्दको प्रयोग अनि प्रेम प्रस्ताव राखिन्छ । ती महिला एवं बालबालिकाले प्रेषकको झुटो प्रस्ताव विश्वाश गर्छन् । अनि मायाको सा“च्चै अनुभूति गरेर उनीहरुको प्रस्ताव अनुसारका क्रियाकलाप गर्छन् । यसले मानसिक हिंसादेखि यौन हिंसा हुदै बेचबिखन तथा ओसारपसारको शिकार बनाएको छ ।
नेपालमा इन्टरनेट र प्रविधि बढ्दै गएको छ । सर्वसाधारण समेत इन्टरनेटको पहु“मा छन्, तर तिनलाई प्रयोग गर्ने र सुरक्षित हुने कसरी विद्युतीय साक्षरता छैन । यसले महिला, बालबालिका र किशोरीहरु त्यसमा पनि सिमान्तकृत समुदायका व्यक्ति हिंसाको जोखीममा परिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ७३ प्रतिशत परिवारमा स्मार्टफोन पुगेको छ । कुल जनसंख्याको ३७.८ प्रतिशतले इन्टरनेट चलाउछन् । ल्याबटप वा कम्प्युटर प्रयोग गर्नेको संख्या १५ प्रतिशत छ । जतिजति विद्युतीय अनलाइन उपकरणको पहु“च पुगेको छ, त्यसअनुसार अनलाइन सुरक्षाका बारेमा सिकाइएको छैन । कसरी अनलाइन प्याटफमहरुमा संलग्न हुने, कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारेमा बहस भएको छैन । यसले महिला, बालिका, किशोरी, अपांगता भएका तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अनलाइन हिंसाको शिकार बनाएको हो । सामाजिक सञ्जाललाई असामाजिक बनाएको हो ।
कति बेला लाग्न सक्छ यसले सामाजिक होइन असामाजिक गतिविधि बढाएको छ । प्रयोग नै नगरौं । तर, अनलाइन प्रविधिको प्रयोगबीना अबको जीवन सम्भव छैन । विद्यार्थीदेखि व्यवसायी, जागिरे, राजनीतक व्यक्ति सबैकालागि अनलाइन माध्यम अत्यावश्यक भएको छ । यसर्थ अनलाइनका चुनौतिबाट बच्न आफूलाई प्रविधि र साक्षरमैत्री बनाउनुपर्छ । व्यक्ति व्यक्तिमा चेतना नपुग्दासम्म सामाजिक सञ्जालका माध्ययमबाट हुने अनलाइन हिंसा र दुव्र्यवहार अझ बढ्नेछ । यसर्थ राज्यस्तरबाटै सामाजिक सञ्जालको दुरुपयोग गरी हुने हिंसा रोक्न सचेतनाका कार्यक्रम संचालन गर्नुपर्छ । अनलाइमार्फत हुने चरित्रहत्या, गालीगलौज जस्ता गतिविधिले व्यक्तिको मानसिकतामा ठूलो असर पारेको देखिन्छ । बालबालिकाका लागि साइबर सुरक्षाबारे पाठ्यक्रममै समावेश गरेर विद्यालय तहबाटै सिकाउनुपर्छ ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले अनलाइनमार्फत अरुलाई मानसिक यातना दिने वा जिस्काउने व्यवहारलाई गलत मानेको छ । कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमयार्दित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैया“सम्म जरिबाना वा पा“च वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएमा उल्लंघनकर्तालाई पचास हजार रुपैया“सम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । कसूरबाट पीडित व्यक्तिलाई हुन गएको हानी नोक्सानी कसूरदारबाट मनासिव क्षतिपूर्ति भराई दिने समेत व्यवस्था छ । यसर्थ सामाजिक सञ्जाललाई असामाजिक रुपमा प्रयोग गर्ने र अनलाईन हिंसा गर्नेको बेवास्था गर्नु हुदैन । समस्या समस्या नै हो हिंसा हिंसा नै हो । भयावह नहु“दै समाधानका उपाय खोज्नुपर्छ । सामाजिक सञ्जाललाई असामाजिक बनाउने, साथी, सहकर्मी र सम्बन्धमा यौन वासना खोज्नेलाई रोक्नुपर्छ । रासस

लुम्बिनी रिभ्यू