काठमाडौं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन आगामी बैशाख २१ गते लुम्विनीमा हुनेभएको छ । केन्द्रीय समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी बिज्ञप्तिका अनुसार बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन गर्ने गर्ने निर्णय गरेको हाे ।
बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न बैठकले निर्देशन दिएको छ ।
बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ ।
बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने नेपाल पत्रकार महासंघको विधानले व्यवस्था गरेको जानकारी समेत महासंघले गराएको छ ।।

लुम्बिनी रिभ्यू