काठमाडौँ । १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) काे महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएकाे छ ।
मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
५ दलले जारी गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत् आजका मुख्य समस्याहरुलाई समाधान गर्नेगरी तालिकाबद्ध रुपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए ।
अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पुर्याउन कुशलतापूर्वक अगुवाई गर्ने अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको पनि उपमहासचिव रिमालले जानकारी दिए ।

लुम्बिनी रिभ्यू