अमृता अनमोल
बुटवल –¬ वनलाई धनमा बदल्न सामुदायिक वन र स्थानीय सरकारबिच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । यसका लागि स्थानीय सरकारले वनको अवस्था, उपयोग र संरक्षणबारे विशेष चासो राख्नुपर्ने उनीहरुले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको सामुदायिक वन र स्थानीय सरकारबिच संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले पर्यापर्यटनका नाममा सामुदायिक वनमा व्यक्ति हावी हुने क्रम बढेको भन्दै त्यसलाई रोक्न आग्रह गरे । उनले वनमा चलेका केवलकार र होटलहरुको उदाहरण दिदै निश्चित व्यक्तिको फाइदाका लागि मात्रै वन मास्न दिन नहुने बताए । अध्यक्ष भण्डारीले वनमा तेहरो कर लगाएर राज्यले राजश्व लिइरहेको तर संरक्षणमा ध्यान नदिएकोमा दुख व्यक्त गरे । उनले वनको संरक्षण र उपभोगबाट स्थानीयले फाइदा लिने बताउन स्थानीय तहले संघ र प्रदेशसंग नबाझीनेगरी एन बनाउन र लाग गर्न सक्ने बताए । वन उपभोक्ताको हीत र स्थानीय तहसंगको समन्वयमा सरकारी सामुदायिक वन महासंघ सधै अगाडि रहेको बताउदै उनले यसपालि वन महासंघलाई स्थायी लेखा नम्बर प्राप्त गर्न र त्यसको छुट दिलाउन समेत अहम भूमिका खेलेको उनले बताए ।
कार्यक्रममा बोल्दै बाग्मती प्रदेशसभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष भारती पाठकले वन हरियाली र वातावरण संरक्षणका लागि मात्रै नभएर उपभोक्ताको आय वृद्धि र देशको संवृद्धिका लागि पनि बनाउन आग्रह गरिन् । त्यसका लागि वन र संवृद्धिलाई जोडेर सबै वनमा व्यवस्थापन योजना बनाउन उनले सुझाब दिइन् । स्थानीय सरकार नागरिकको ढोका अगाडिको सरकार भएको बताउदै प्रदेश सभा सदस्य पाठकले वनको उपयोग र संरक्षणबाट उपभोक्तालाई लाभ लिने बनाउन स्थानीय सरकार अझ जिम्मेबार हुनुपर्ने बताइन् ।
बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले वनलाई संवृद्धिमा जोड्न र वनको उपयोगबाट सबैले फाइदा लिने बनाउन स्थानीय सरकार सधै अग्रसर भएको बताए । बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्यालले सामुदायिक वन उपभोक्ताको आम्दानी र जिविकोपार्जन फेर्ने राम्रो साधन भएकाले त्यसअनुसार सहकार्यमा काम गर्न आग्रह गरिन् । कंचन गाउपालिकाका अध्यक्ष नवराज ढकालले वनको फाइदा महिला र विपन्नका लागि उपयोग गर्न आग्रह गरे ।
डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाले वन उपभोक्ताकै पहुंचमा रहेको र संवृद्धिमा लगाइएको बताए । उनले अब सबै वनमा व्यवस्थापन प्रणाली लागू गरेर काठको उपयोग बढाउनुपर्ने उनले जनाए ।
सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देही अध्यक्ष श्यामकला आचार्यले वन संरक्षण र चोरी निकासीमा सहयोग नगर्ने तर, काठ बिक्रीमा मात्रै हस्तक्षेप गर्न नहुने बताइन् । वन संरक्षण र त्यसको उचित उपयोग गर्न स्थानीय तहसरकार र सामुदायिक वन बिच बलियो सम्बन्ध हुनुपर्ने उनले बताइन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका सस्थापक अध्यक्ष महेन्द्र लाकौल, पूर्व अध्यक्ष डिल्लीराज भण्डारी र दिनानाथ आचार्यलाई कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा सामुदायिक वनका पूर्व अध्यक्षहरु र सरोकारवालाहरुले वनको संरक्षण र उपयोगमा स्थानीय तहको भूमिकाबारे विचार राखेका थिए ।

लुम्बिनी रिभ्यू