बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताउनुभएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बिहीबार बुटवलमा गरेको विद्यार्थी सम्मान कार्यक्रममा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थी फेल भएको धारणा राख्नुभयो । उहाँले विज्ञ शिक्षकहरुबाट मुख्यमुख्य विषयको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताउनुभयो ।
ओलीले अबको केही दिनभित्रै विषयविज्ञ शिक्षकहरुबाट मुख्य विषयहरुको अनलाइन कक्षा सञ्चालन गर्ने जनाउनुभयो । ‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थी एसईईमा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीलाई मेरो आग्रह छ,’ ओलीले भन्नुभयो ।

उहाँले फेल भएका विद्यार्थीलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन पनि आग्रह गर्नुभयो । ‘अझै पनि केही बिग्रिएको छैन । मौका परीक्षा आउन एक महिना बाँकी छ । यो समयमा राम्रो तयारी गरेर पास हुने गरी परीक्षा दिनुभयो भने अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुनेछ । त्यसका लागि तयारी राम्रो गर्नुपर्यो,’ ओलीले भन्नुभयो ।
२०८० चैत १५ देखि सञ्चालन भएको एसईईमा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ ।
सोही परीक्षालक्षित गरी फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताउनुभयो । उहाँले शिक्षकहरुमा आफूभित्र भएको ज्ञानसमेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थी फेल भएको जनाउँदै अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउन सुझाउनुभयो ।
अनेरास्ववियुले एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ‘ए’ प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ विद्यार्थीलाई सम्मान गरेको हो ।
राष्ट्र निर्माणमा सबैले योगदान गराैं : पौडेल
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अब भरोसा र उत्साहका साथमा कदम अगाडि बढाउने वातावरण बनेको बताउनुभयो ।
उहाँले देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसका बीचमा समझदारी बनेको जानकारी दिनुभयो ।
हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी शर्मा ओली केही दिनमा देशको प्रधानमन्त्री बन्न लाग्नुभएकाले अब देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो– त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यसभित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ ।
उहाँले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना गर्नुभयो । नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्वपूर्ण योगदान रहेको बताउँदै उपाध्यक्ष पौडेलले यो अझ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायतले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई उत्प्रेरणा थपेको बताउनु भयाे ।

लुम्बिनी रिभ्यू