काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ।
उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो।
असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो। प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमाले विपक्षमा उभिने निश्चित हुँदा प्रधानमन्त्रीलाई सदनको बहुमत पुर्याउन आवश्यक १३८ सङ्ख्या पुग्न नसकेको हो।
सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो।
सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।

लुम्बिनी रिभ्यू