• Saturday 25th July 2026

सिद्धार्थ बहुउद्धेश्यीय सहकारीको २५ औ वार्षिक साधारण सभा

सिद्धार्थ बहुउद्धेश्यीय सहकारीको २५ औ वार्षिक साधारण सभा

सुशाशन र पारदर्शितालाई ख्याल गरेर जोखीमपूर्ण लगानी घटाउने हो भने आर्थिक मन्दीले पनि सहकारीमा समस्या नआउने सरोकारवालाहरुको भनाइ


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा रहेको सिद्धार्थ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २५ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा उद्घाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सहकारीको सुशाशन र पारदर्शितालाई ख्याल गरेर जोखीमपूर्ण लगानी घटाउने हो भने आर्थिक मन्दीले पनि सहकारीमा समस्या नआउने बताए । त्यसका लागि सहकारीका सबै सदस्यहरु आफ्नो पूजीप्रति अपनत्व महसुस गर्ने वातावरण बनाउन उनीहरुले आग्रह गरे । उनीहरुले सदस्य बाहिर लगानी नगर्न र भाका नाघेका ऋणीहरुको ऋण उठाउन सहकारीहरुले तदारुकता अपनाउनुपर्ने बताए ।


प्रमुख अतिथि तथा सहकारीका निवर्तमान अध्यक्ष रामप्रसाद पौडेलले उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रुपमा परिचालन गर्दा र त्यसको प्रतिफल शेयर सदस्यहरुबीच पुर्याउदा आर्थिक मन्दी र अन्य सहकारीमा विचलन देखिए पनि सिद्धार्थ सहकारी सुरक्षित रहेको बताए । उनले मुनाफा हुने आशमा जोखीमपूर्ण लगानी नगर्न र सहकारीका सदस्यबाहिर लगानी नगर्न सुझाब दिए ।
पूर्व अध्यक्ष अजीत खनालले नियम मिचेर आफूखुसी लगानी गर्दा सहकारी जोखीममा परेको बताउदै त्यस्तो जोखीममा सिद्धार्थ सहकारी नहुनु खुसीको कुरा रहेको बताए । पूर्व उपाध्यक्ष देवराज घिमिरेले खर्च कम गरेर लगानी बढाउन सुझाब दिए ।


सहकारीमा १ हजार ६ सय ३५ सदस्य रहेका छन् । त्यसमा महिला ७ सय ८८ र पुरुष ८ सय ४७ जना छन् । सहकारीको कुल वचत निक्षेप ३४ करोड ४२ लाख ६५ हजार ९ सय ५४ रुपैया छ । यसबाट २८ करोड ९७ लाख १७ हजार १६ रुपैया कर्जा लगानी गरेको छ । सहकारीले सदस्यहरुका लागि वचत निक्षेपसंगै पेन्सन वचत, सिद्धार्थ विशेष वचत, बाल वचत योजना लगायत संचालन गरेको छ । यस्तै, सामाजिक उत्तरदायित्व बहन अन्तरगत मातृशीशु स्याहार तथा मृत्यु सस्कार सहयोग, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको सम्मान, कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सन्तानको सम्मान, सहकारी सदस्यको नेतृत्व तथा क्षमता विकास कार्यक्रम संचालन गरेको छ ।


साधारणसभामा अध्यक्ष बाबुलाल नेपालले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक होम प्रसाद भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन, आर्थिक प्रतिवेदनपारित भएका थिए । सस्थाका पूर्व अध्यक्ष रामप्रसाद पौडेलको प्रमुख आतिथ्यता र अध्यक्ष बाबुलाल नेपालको अध्यक्षता र व्यवस्थापक प्रकाश भट्टराईको संचालनमा साधारण सभा भएको हो । उपाध्यक्ष तिलकराम आचार्यले स्वागत , शिक्षा तथा सामाजिक उत्तरदायित्व समितिका संयोजक तथा साधारण सभा सदस्य शिवबहादुर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने शिक्षा तथा सामाजिक उत्तरदायित्व बहन समिति सदस्य शिवप्रसाद घिमिरेले सहकारी गीत गाउदै सहकारीको महत्व प्रकाश पारेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend