बुटवल, नीतिगत अस्पष्टता, घूसखोरी, राजस्व छली र सार्वजनिक सेवामा हुने अनियमितता कम गर्न नसक्दा नेपालमा भ्रष्टाचार घट्न नसकेको बुटवलका सरोकारवालाहरुले बताएका छन् ।
भ्रष्टाचारको दर र दायरा स्थानीय तह, प्रदेश र संघ हुदै सार्वजनिक निर्माण, स्वास्थ्य, शिक्षा र सञ्चार तथा सूचनाप्रविधि जस्ता क्षेत्रहरूमा समेत बढेकाले अवस्था डरलाग्दो बनेको उनीहरुले बताए । सेन्टर फर मिडिया रिसर्च नेपालले मंगलबार बुटवलमा आयोजना गरेको भ्रष्टाचार र मिडिया अन्तर संवाद कार्यक्रमका सहभागीले दलका नेता र उच्च तहका व्यक्तिको संलग्नता र संरक्षणमै ठूला भ्रष्टाचारका काण्डहरू भएको बताए । भ्रष्टाचार कम गर्ने हो भने दलीय संस्कार र पद्धती सुधार्नु पर्ने उनीहरुले सुझाब दिए । खर्चिलो र भड्किलो निर्वाचन प्रणाली नहट्दासम्म नेताहरु सरकारमा पुगेर जसरी पनि कमाउ धन्दामा लाग्ने भन्दै उनीहरुले सदाचार प्रवद्धनका काम राजनीतिक दल र दलीय सस्कारबाटै सुरु हुनुपर्ने बताए ।

कमजोर कानूनी संरचना र कार्यान्वयनमा कमीले पनि अनियमितता बढाएको भन्दै सरोकारवालाहरुले तीन तहकै सरकारले यसमा काम गर्नुपर्ने बताए । नागरिक निगरानी, सूचनाप्रविधिको प्रयोग र डिजिटलाइजेसनले पनि भ्रष्टाचारको नियन्त्रणका लागि सहयोग पुग्ने बताउदै सरोकारवालाहरुले सार्वजनिक सेवामा सूचनाप्रविधिको प्रयोगले पारदर्शिता र निगरानी प्रणालीलाई बलियो बनाउन सुझाब दिए । संचारमाध्ययम पनि भ्रष्टाचार निवारणका माध्ययम बन्न सक्ने बताउदै उनीहरुले भ्रष्टाचारको अन्त्य र सुशाशन प्रवद्धनका खोजमुलक सामाग्री पस्कन सुझाए । अन्तरसंवादमा सेन्टर फर मिडिया रिसर्चका तिलक पाठकले भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे अवधारणा प्रस्तुत गरेका थिए । उनले अध्ययनबाट भ्रष्टाचारका आयाम , क्षेत्र र त्यसको नियन्त्रणमा मिडियाको भूमिका के हुनसकछ भन्ने प्रष्ट पारे ।
वरीष्ठ पत्रकार हरिबहादुर थापाले भ्रष्टाचारको नीतिगत संरक्षण र राजनीतिबारे अवधारणा प्रस्तुत गरे । दलिय संरक्षण र मिलेमतोमा नीतिगत भ्रष्टाचार बढेको बताउदै त्यसलाई सुधार्न दलहरु सच्चीनुपर्ने बताए ।

लुम्बिनी रिभ्यू