अनु खनाल
बुटवल, अमरज्योति वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले अचार बनाउने तालिम सम्पन्न गरेको छ। संस्थाले आफ्ना संस्थामा आवद्ध रहेका सेयर सदस्यहरूलाई तीन दिने अचार बनाउने तालिम प्रदान गरेको हो।
अचार बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक भगवती बस्यालले यस्ता खाले तालिमले महिलाहरूलाई सिपको विकास गर्ने बताउनुभयो। उहाँले तालिम प्राप्त गर्न महिलाहरु उत्साहजनक रूपमा सहभागी भएको बताउनुभयो। तालिम छोटो भएपनि सहभागीहरूको इच्छाशक्ति धेरै भएकाले धेरै कुरा सिकाउन सकेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि तथा लुम्बिनी वचत तथा ऋण सहकारी संघका सञ्चालक समिति सदस्य विष्णु प्रसाद बस्यालले सहकारीले यस्तो खाले तालिम सञ्चालन गर्नु राम्रो कुरा रहेको बताउनुभयो। उहाँले तालिममा महिला मात्रै सहभागी गराउनु भन्दा पुरुषहरूलाई पनि सहभागी गराउनु अझ राम्रो हुने बताउनुभयो।
सेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउनको लागि सहकारीले यस्तो खाले तालिम आयोजना गरेको सहकारीका अध्यक्ष ध्रुव नेपालले बताउनुभयो। सहकारीको मुख्य उद्देश्य भनेको सहकारीमा आबद्ध रहेका सेयर सदस्यहरूलाई कुनै न कुनै कुरामा आबद्ध गराई सहकारीसँग आत्मयता वृद्धि गर्नु पनि रहेको उहाँले बताउनुभयो ।
सदस्यहरूलाई उद्यमी बनाउने र ऋण लगानी गर्ने प्रविधिको सहकारी भएकाले उद्यमसँग जोडिएर व्यापार व्यवसाय गर्न उहाँले तालिममा सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिममा सहभागीले लसुन आँप कागती करेला मेथी मिक्स लगायतका अचारहरू बनाएका थिए।
कार्यक्रम संस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको स्वागत मन्तव्य सचिव तुलसा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। तालिममा ३५ जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो।

लुम्बिनी रिभ्यू