उषाकिरण पन्थ
बुटवल। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय महासचिव घनश्याम भुसालले वर्तमान नेपाली राजनीति गम्भीर अन्योलको अवस्थामा पुगेको बताएका छन्।
रुपन्देही जिल्ला कमिटीको आयोजनामा आइतबार पार्टी कार्यालय बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले नेपालको राजनीति कुन दिशामा अघि बढ्ने हो भन्नेमा स्पष्टता नदेखिएको बताए। उनले देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उल्लेख गर्दै तत्काल सुधारको सम्भावना कमजोर रहेको धारणा राखे। “अर्थतन्त्र उठ्ने अवस्थामा छैन,” भुसालले भने, “उत्पादन क्षेत्रमा लगानी नहुनु, पुँजीगत खर्च नहुने अवस्था, १०–१२ खर्ब रुपैयाँ जमिनमा मात्रै लगानी हुनु, जनसंख्याको जन्मदर घट्दै जानु, र ठूलो संख्यामा युवा विदेशिनु अहिलेको मुख्य समस्याका कारण हुन्।”

भुसालले राज्यको लगानी नीति नयाँ क्षेत्रमा केन्द्रित हुन नसक्नुको मूल कारण राज्य सञ्चालकहरू दलाल पुँजीवादतर्फ उन्मुख भएको बताए। उनले सहि कार्यदिशा तय गर्न नसक्दा पपुलिस्ट प्रवृत्ति हावी हुन थालेको र यसले अधिनायकवाद जन्माउने र संविधानमै खतरा देखिन सक्ने चेतावनीसमेत दिए।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हिराध्वज शाह, अबिराम विक, आशा चौधरी, विकास तिवारी, नरेन्द्र भण्डारी, डोलेन्द्र गहतराज, आनन्द प्रसाद गुप्ता, रुकमगत घिमिरे, यम सुनार, सफिर महमद, लक्ष्मी राय लगायतका नेताहरूले पार्टीलाई जनताको पार्टीका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए। सो अवसरमा पार्टीका पोलिटब्युरो सदस्य नन्द बन्जाडे, केन्द्रीय सदस्य बाबुलाल यादव, भगवती अधिकारी लगायत प्रदेशस्तरीय नेताहरूको पनि उपस्थिति रहेको थियो।

लुम्बिनी रिभ्यू