नम्रता अर्याल
बुटवल, बुटवलको प्रमुख पर्यटकीय स्थल हो मणिमुकुन्द सेन उद्यान । बुटवल उपमहानगरपालिका २ मा रहेको मणिमुकुन्द सेन उद्यान अर्थात फुलबारीमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।
आर्थिक बर्ष २०८१, ८२ मा मणिमुकुन्द सेन उद्यान अर्थात फुलबारीमा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकहरुले भ्रमण गरेका छन् । जसमध्ये ७४ हजार ५ सय ९२ जना भारतिय पर्यटक रहेका छन् । पर्यटकमध्ये ७१ हजार ६ सय ९५ जना विद्यार्थी अध्ययन अवालोकनका लागि आएका छन् । पर्यटकको शुल्कबाट ४ करोड ६ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ आम्दानी भएको छ । मणिमुकुन्द सेन उद्यान संरक्षण समितीले मंगलबार पत्रकार सम्मेलन गरि उक्त जानकारि दिएको हो । पत्रकार सम्मेलनमा समितिका महासचिव युवराज घिमिरेले बार्षिक समिक्षा तथा भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।

मणिमुकुन्द सेन उद्यान कुनै सामान्य बगैंचामात्र नभई सेन वंशीय राजाहरूको इतिहास बोकेको गौरवपूर्ण स्थल हो। ५०० वर्षअघि सेन वंशले शासन गरेको बुटवल क्षेत्रको यो थलोले ऐतिहासिक दरबारको भग्नावशेष, पुराना मठमन्दिर, फुलबारी बगैंचा, चिडियाखाना, लगायत संरचनाहरूको माध्यमबाट इतिहास बोलिरहेको छ। उद्यानको व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न हुँदै आएका २५६ जनाले प्रत्यक्ष तथा ज्यालादारी रोजगार पाएका छन्। यसले स्थानिय रोजगारी प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याइरहेको छ।
पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिँदै समितिका अध्यक्ष माधव नेपालले मणिमुकुन्द सेन उद्यानको संरक्षण र प्रवर्द्धन सिर्फ समितिको प्रयासले सम्भव नभएको स्पष्ट पार्नुभयो। , “सफल व्यवस्थापनका लागि सामुदायिक वन, पुरातत्त्व विभाग, स्थानीय सरकार र अन्य सरोकारवाला निकायको समन्वय र सहकार्य अपरिहार्य छ।”उहाँले भन्नू भयो ।
संरक्षण समितिले आगामी दिनमा अझ व्यवस्थित र आकर्षक बनाउनका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। रिचार्ज पोखरी र कृत्रिम झरना निर्माण सिस महल रेस्टुरेन्ट भवन एक्वेरियम केन्द्र निर्माण जिपलाइन निर्माणको सम्भाव्यता अध्ययन नर्सरी व्यवस्थापन सुधार लगायतको योजना समबेश गरेको छ ।

लुम्बिनी रिभ्यू