बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख तथा नापी अधिकृत सुग्रीव यादवविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। यादवसँगै उहाँकी श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु यादव र शुभम यादवलाई समेत प्रतिवादी बनाइएको छ । आरोपपत्रमा यादव २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधीमा ९ करोड ३ लाख ९५ हजार ४ सय ४४ रुपैयाँ आर्जन गरेको देखिएको छ । त्यसबेला ५ करोड ७९ लाख ६२ हजार ४ सय ४० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि गैरकानुनी सम्पत्ति ठहर गरिएको हो । आरोपपत्रमा गैरकानुनी सम्पत्ति जफत गर्न र सोही बराबरको रकम बिगो माग दाबी गरिएको छ ।

आयोगले प्रतिवादी सुग्रीवले सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी श्रीमती गायत्री, छोराहरु सुधान्सु र शुभमका नाममा खरिद गरेको जीकिर गरेको छ । यही कारण भ्रष्टाचार निवारण ऐन बमोजिम प्रतिवादी कायम गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्धारा विज्ञप्तीमा जनाइएको छ ।

लुम्बिनी रिभ्यू