काठमाडाै । सूर्यदेव र छठी माताको उपासना गरिने छठ पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । याे छठ पर्व र उत्साहले जताततै उल्लास छाएकाे छ।
कात्तिक शुक्ल चतुर्थी (नहाय–खाय) बाट विधिवत् रूपमा सुरु चार दिने यस पर्वका लागि तराई–मधेशका नदी, पोखरी र जलाशयहरूलाई नवदुलहीझैँ श्रृङ्गार्ने कार्य जारी छ । स्थानीय नदि, तलाउ, खोला लगायतका प्रमुख छठ स्थलहरूमा भव्य सजावट भइरहेको छ । स्थानीय युवा क्लब तथा समुदायहरू सरसफाइ, घाट निर्माण, र रंगीन बत्ती तथा ध्वजापताकाले छठ घाटहरू सजाउन व्यस्त छन् ।
बजारमा पनि छठ पर्वको आवश्यक सामग्री, जस्तै बाँसका डाला, नाङ्लो, माटोका भाँडाकुँडा, उखु, नरिवल, ठेकुवा र भुसुवा (कसार) बनाउन प्रयोग हुने शुद्ध अन्नको किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।
छठ पर्वलाई पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्नका लागि सूर्यको उपासना गरिने पर्वका रूपमा लिइन्छ । पहिलो दिन व्रतालुहरू (मुख्यतः महिलाहरू) ले कठिन निर्जल व्रतको सङ्कल्प गर्छन्, जसलाई “नहाय–खाय“ भनिन्छ । दोस्रो दिन “खरना’’ मा दिनभर उपवास बसी राति खीर, पुरी लगायतका चोखो परिकार ग्रहण गरेपछि ३६ घण्टाको कठोर निर्जल व्रत सुरु हुन्छ ।
पर्वको मुख्य दिन दिन व्रतालुहरूले ठकुवा, भुसुवा, फलफूल र अन्य मिष्ठान्नले भरिएका ‘कोशी’ (पूजा सामग्रीको डालो) लिएर जलाशय किनारमा पुग्छन् र अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । रातभर घाटमै जाग्राम बसेर छठी माताको आराधना गरिन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

लुम्बिनी रिभ्यू