काठमाडौँ । नेपालका कम्युनिष्टहरूविच अनेक उचार चढाव भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ ।
काठमाडाैमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।
एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ ।
दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।
भेलाले घोषणा पत्र र विधान पनि पारित गरेकाे छ।
एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी थिए ।
एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

लुम्बिनी रिभ्यू