• Saturday 25th July 2026

बुटवलको विकासका लागि एमालेले गर्यो सात संकल्प

बुटवलको विकासका लागि एमालेले गर्यो सात संकल्प

बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।


  • लुम्बिनी रिभ्यू

आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ ।


बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने का लागि अहिलेको नेतृत्वले शुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिदै मुख्यतः सात योजनालाई अघि सारेको हो ।
‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, –‘५ वर्षमा मुख्य सात एजेण्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं ।’
एमालेले बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने पहिलो एजेण्डा बनाएको छ । आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो । उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेण्डालाई अगाडि बढाएको हो । आर्थिक राजधानी निर्माणका लागि उद्योग, ब्यापारलाई अनुकुल वातावरण वनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरुपका पूर्वाधार वनाउने योजना एमालेका छन् । मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरुलाई छ ।
आर्थिक केन्द्र वनाउनका लागि निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवद्र्धन गरिने मेयर उम्मेदवार भट्टराईले बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए । स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिइ ब्राण्डिङ्ग गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ ।
स्थानीय कच्चा पदार्थको उपयोग बढाउने, बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्नका लागि जमिनमुनि भूमिगत बजार र माथि पार्किङ्ग रहने गरी नेपालकै नमुनायोग्य बहुउद्देश्यीय बजार केन्द्र वनाउने योजना छ । रोजगारदाता र श्रमशक्तिका बीच समन्वय गर्नका लागि स्थापित मजदुर बैंक पोर्टल एपलाई प्रभावकारी बनाई श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गर्ने योजना पनि रहेको छ ।
दोश्रो एजेण्डामा बुटवल ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत वजारको रुपमा स्थापित गर्ने रहेको छ ।
‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ । त्यो गर्नुपर्छ, उपमेयर उम्मेदवार साबित्रादेवि अर्याल भन्छिन,–‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरवार पुरातात्विक महत्वको हिसावले अर्थपूर्ण छन् । यिनको विकास, संरक्षण र सम्वद्र्घनका लागि केही प्रयास भएका छन् जसलाई अझै ब्यवस्थित र नयाँपन गराउनुपर्ने छ ।’
बर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डीपीआर बनाएको । त्यसलाई तुरुन्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुनेछ । १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत शहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवद्र्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउछन् । जीतगढीलाई पर्यटनसंग जोडर बुटवलको प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव छ ।
एमालेले तेश्रो एजेण्डामा तिब्र भइरहेको बसाई सराईकोव्यवस्थापनलाई लिएको छ । बसाईसराईसंगै हुने जनघनत्वलाई आवश्यक आधरभूत पक्षको विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ । उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीका पर्याप्त सम्भावना भएको यो क्षेत्र हुनुले वसाई सराईको चाप बुटवलमा छ । यसका लागि पर्याप्त जग्गाको अभाव छ । भएको जग्गालाई ब्यवस्थापन गरेर आधुनिक र ब्यवस्थित सहर वसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिकर शहर निर्माणको सम्भाव्यता खोजिने योजना उम्मेदवारले बनाएका छन् । बहुतले घर वनाएर नयाँ आवासको ब्यवस्था गर्ने योजना र लगानीको वातावरण उपमहानगरले बनाउने हो । यसले बुटवललाई आधुनिक बनाउने विश्वास उम्मेदवारमा रहेको छ ।
बुटवललाई विकासको मानक बनाउने चौथो एजेण्डा एमालेले सार्वजनिक गरेको छ । काठमाण्डौंपछि तेस्रो बरियताको शहरमा नाम आउने बुटवललाई आधुनिक र अन्र्तराष्ट्रिय शहर बनाउने दायित्व आफूहरुले लिने एमालेका उम्मेदवारले जनाएका छन् । पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गरिने योजना छ ।
सुकुम्वासी, अब्यवस्थित वसोवास व्यवस्थापन अर्काे एजेण्डा एमालेले बनाएको छ । ‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो । तर यो समस्या हैन समाधान हो, मेयर उम्मेदवार भट्टराई भन्छन,–‘भूई तहका मान्छेको ब्यवस्थापन गर्दा यो अझै ब्यवस्थित हुन सक्छ । उनीहरु यहाँ किन आउन खोज्छन् भन्दा खेरी यहाँ वाँच्न सकिन्छ । वाँच्न सक्ने वातावरण बुटवल आफैले गरेको छ भने यसलाई थोरै मात्र ब्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुन सक्छ ।’ यो आवश्यकता पूरा गर्नका लागि वुटवलले संघ, प्रदेशसमेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ ।
सीप, योग्यता र क्षमता भएका ब्यक्तिलाई विदेशिनबाट रोक्ने अर्काे एजेण्डा एमालेको छ । ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको भनाई छ ।
रुपन्देही जिल्ला गौतमवुद्वको पवित्र भूमि हो । अन्तरराष्ट्रिय विमानस्थल वनिसकेको अवस्थामा धेरै अवसर सिर्जना हुनेभन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाइएको मेयर भट्टराईले बताए । ‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन, तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनेछौं, उनले भने । बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंिगकार गरिने उनले बताए ।
बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेण्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाई छ । आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातवरण बनाउने जिम्मेवारी आफूहरुले लिने उनले बताइन । (तस्बिर-बुटवल उपमहानगरपालिका)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend