बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई देशकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । १२ वर्षमाथिका उमेर समुहका सबै व्यक्तिलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच कोभिड विरुद्धको पूर्ण खोप नियमित खोप सुनिश्चितता घोषणा गरिएको हो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले एक लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको बताए । उनले ९ हजार ८ सय ६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६ सय ६३ जनालाई खोप लगाईएको जानकारी दिए ।
उपप्रमुख सावित्रादेवी अर्यालले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताए । उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए ।

लुम्बिनी रिभ्यू