• Saturday 25th July 2026

मौलिक मेला पर्वहरु एकता र वीरताको बिम्ब भएकाे विश्वास

मौलिक मेला पर्वहरु एकता र वीरताको बिम्ब भएकाे विश्वास


  • लुम्बिनी रिभ्यू

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताएकी छन् ।
प्युठानको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उनले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य गरी सत्यको विजयको पक्षमा मनाइने मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउने बताइन् ।


मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्वकाे रुपमा मनाइने भएकाले पनि सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्त्वपूर्ण प्रणाली भएको मन्त्री शर्मा बताइन् ।
उनले मेला पर्वहरुले कुनै न कुनै बेला समाजले प्रयोग गरेका चालचलनमा आधारित भएकाले समयानुकूल परिमार्जन गर्दै प्रचलनमा राखिरहनुपर्ने बताइन् । सबै चाडपर्व र मेलाहरु तत्कालीन समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने गरेका मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने पनि उनकाे भनाइ छ ।
मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समय स्थानीय तहहरुले कार्यक्रम बनाउनु अझ महत्त्वपूर्ण भएको जनाइन् । धेरै पुराना मौलिक सस्कृति लोप हुने खतरा देखिएकाले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा सबैको ध्यान जानु आवश्यक रहेकोमा उनकाे जोड थियाे ।
परम्परागत रुपमा मनाइने मेलाहरुको मर्ममा असर नपर्ने गरी स्वरुप परिवर्तन गरेर प्रतिष्पर्धात्मक बनाउदै लैजानु महत्त्वपूर्ण परिवर्तन भएको पनि उनले बताइन् ।प्युठानको सराय नाच नेपालकै प्रसिद्व रहेको उल्लेख गर्दै उनले तरवारसहित नाचिने युद्धकलामा आधारित यो नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमूना भएको बताइन् ।
नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको दावी गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घरघर र समुदायस्तरदेखि गर्नुपर्ने धारणा राखिन् ।
तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको छ ।
पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गर्दछ्न । यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन् ।
मौलिक सस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउदै लैजानु पनि सरकारको दायित्व भएको स्पष्ट गर्दै उहाँले टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको उनलेे बताइन्। मन्त्री शर्माले अन्य सामाजिक सन्जालको व्यवस्थापनका लागि पनि सामाजिक सन्जाल समबन्धी निर्देशिका जारी गरिएको र ऐन निर्माणको पनि तयारी थालिएको जानकारी दिइन् ।
अर्को सन्दर्भमा मन्त्री शर्माले भूकम्प प्रभावितहरुको पुनर्स्थापना सरकारको प्रमुख कार्यभार भएको बताइन् । त्यसका लागि सरकारले निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याइएको बजेटमा थप गरेर दश अर्वको पुनर्निर्माण कोष बनाएको जानकारी उनले दिइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend