• Saturday 25th July 2026

सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार सामाजिक मूल्य मान्यता : प्रवक्ता शर्मा

सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार सामाजिक मूल्य मान्यता : प्रवक्ता शर्मा


  • लुम्बिनी रिभ्यू


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन तर्जुमा सम्बन्धमा सरोकारवालाहरूसँग गरेको अन्तरक्रियामा उहाँले सामाजिक मूल्य मान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन बनाउनुपर्ने बताउनुभयो ।

‘‘आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुनुहुँदैन भन्ने होइन किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ,’’ उहाँले भन्नुभयो, ‘‘तर नेपाली समाजको मूल्यमान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानुन निर्माणको आवश्यकता महसुस भएको हो । त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानुन तर्जुमाको मस्यौदा गरिरहेको छ ।’’

नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको स्पष्ट गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘‘हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्यमान्यताको हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरक-फरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्यमान्यता यहाँ लागु हुनुपर्छ भन्ने धारणा सही होइन ।’’

सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गर्दा नेपाली जनताले लडेर ल्याएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुहुँदै उहाँले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रताको हक र नेपाली समाजको विशिष्ट मूल्य मान्यताको रक्षाको सवाललाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकेकाले सो निर्देशिका पनि कानुनमा निर्माणको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend