बुटवल, ८ वर्षमूनिका बालबालिकालाई असल अभिभावकीय शिक्षा प्रदान गर्दै मानसिक र शैक्षिक विकासमा सघाउन सरकारले अभियान थालेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक शिक्षासम्बन्धी सामाग्री तयार गरेर देशव्यापी प्रशिक्षक तयार गर्न थालेको हो । पहिलो चरणमा बालबालिकाको शैक्षिक उपलब्धी कम भएका जिल्ला कपिलवस्तु, नवलपरासी पश्चिम , रुकुमपूर्व, मुगु, डोटी र बजाङका ३० जना शिक्षक तथा सहजकर्तालाई बुटवलमा प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । युनाइटेड मिसन टु नेपालद्धारा आयोजित अभिावकीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिममा युनिसेफले प्राविधिक सहयोग गरेको छ । तालिम बालविकास केन्द्रदेखि कक्षा ३ सम्म अध्ययनरत बालबालिकालाई कसरी शिक्षा, संस्कार र आनीबानी सिकाउने भन्नेबारेमा केन्द्रीत छ । अभिभावक शिक्षा पाएका प्रशिक्षकले जिल्लामा बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पठनपाठन गराउने शिक्षक र अभिभावकलाई असल अभिभावकीय शिक्षाबारे सिकाउनेछन् ।

बुटवलमा माघ २२ देखि सुरु ७ दिने अभिभावक शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सकिएको छ । तालिममा शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशका प्रमुख हरिलाल अर्याल, युनिसेफका परामर्शदाता रिसोनीलाल प्रधानांगा, युनाइटेड मिसन टु नेपालका शिक्ष विषयक क्षेत्रका थिमेटिक टिम लिडर गायत्री तिम्सिनाले सहजीकरण गर्नुभएको थियो । युनाइटेड मिसन टु नेपालका कपिलवस्तु व्यवस्थापक नवराज जोशीले प्रशिक्षण पाएका प्रशिक्षकले जिल्लामा अन्य प्रशिक्षक तयार गर्दै विद्यालय र समूदायमा असल अभिभावक शिक्षा दिने व्यक्ति तयार गर्ने बताए । तालिममा सहभागी दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका सचिव ऋषिराम निगमले विद्यालय शिक्षाले मात्रै बालबालिकालाई असल शिक्षा र संस्कार दिन समस्या हुने भएकाले समुदायमा समेत अभिभावकिय शिक्षा दिने जनशक्ति तयार भएको बताए ।

लुम्बिनी रिभ्यू