• Saturday 25th July 2026

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरे मन्त्रालय हेरफेर

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरे मन्त्रालय हेरफेर

साना दलको मन जितेर भएपनि सरकार बचाउने दाउमा रहेका उनले जनमत, लोसपा र नागरिक उन्मुक्तिको निर्णय नआएपछि मौजुदा मन्त्रीपरिषदमै जिम्मेवारी हेरफेर गरेका हुन् ।


  • लुम्बिनी रिभ्यू

बुटवल, माओवादी केन्द्र बाहिरिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार मन्त्रालय हेरफेर गरेका छन् ।
साना दलको मन जितेर भएपनि सरकार बचाउने दाउमा रहेका उनले जनमत, लोसपा र नागरिक उन्मुक्तिको निर्णय नआएपछि मौजुदा मन्त्रीपरिषदमै जिम्मेवारी हेरफेर गरेका हुन् । जसअनुसार माओवादी केन्द्रका जोखबहादुर महराले सम्हालेको अर्थ र कृष्ण केसीले सम्हालेको शहरी विकास मन्त्रालय मुख्यमन्त्री चौधरी आफैले राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद सहित वन वातावरण खानेपानी, पर्यटन तथा मन्त्रालय यसअघि नै चौधरीले राखेका थिए ।

प्रदेश प्रमुख बुटवलको कार्यालयले प्रेस विज्ञप्ती निकाल्दै मन्त्रीपरिषद हेरफेरसहित ७ सदस्यीय मन्त्रीपरिषद भएको जानकारी गराएको हो । लुम्बिनी प्रदेशका १० दलमध्ये ८ दलको समर्थन पाएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सभामुखसहित ११ सदस्य रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । ३ सदस्य रहेको जसपा पनि नया गठबन्दनमा गएपछि एक महिनाभित्र विश्वाशको मत लिनुपर्ने कानुनी तगारो लागेको छ ।
लुम्बिनी प्रदेश सभामा सरकार बनाउन न्युनतम ४४ मत चाहिन्छ । प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, जसपा, लोसपा र जनमतका ३÷३ र नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा १÷१ र स्वन्त्रबाट एक प्रदेश सभा सदस्य छन् ।

एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीसहितको गठबन्धन बन्दा सभामुखसहित ४४ जना पुग्छन् । राप्रपाले चौधरीलाई समर्थन गरेमा  मधेशवादी दल, राप्रपा र राष्ट्रिय जनमोर्चासमेत गर्दा चौधरीको पक्षमा ४१ मत पुग्नेछ । बाँकी २ मतका लागि स्वतन्त्र र अन्य दलको १ मतमा भर पर्नुपर्नेछ, जुन कठिन छ । चौधरीको सकस  देखेको एमाले-माओवादी गठबन्धनले उनलाई विश्वासको मत लिने सुविधा दिएरै सरकारबाट बाहिर पुर्‍याएर आफू सत्तारोहण गर्ने रणनीतिमा छ ।

निर्वाचन लगत्तै एमाले, माओवादी र राप्रपाको गठबन्धन हुँदा एमालेका लीला गिरी लुम्बिनीमा मुख्यमन्त्री भएका थिए । यसपटक मुख्यमन्त्री एमालेले पाए फेरि गिरी नै र माओवादीको भागमा परे जोखबहादुर महरा मुख्यमन्त्री बन्ने लबिङमा छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend