बुटवल, बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलामा शनिबार दर्शक ओइरिएका छन् । शनिबार सार्वजनिक विदाको दिन भएकाले बुटवलसँगै आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शक मेलामा आएका थिए । दर्शक ओइरिएपछि बुटवल मण्डपको खाली ठाउँ समेत भरिएको थियो । आयोजक उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालले अपेक्षा गरेभन्दा धेरै दर्शक आएको बताउनुभयो ।
केबलकारको टिकटमा छुटदेखि निशुल्क छाला जाँचलगायतका छुट सुविधा उपलब्ध भएको छ । मेलाको टिकट लिएर जानेलाई लुम्बिनी केवल कारमा २५० रुपैयां छुट दिएको छ भने बुटवलको डर्मा सेन्टरले मेला स्थलमै निशुल्क छाला जाँच गरेको हो ।
मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला आयोजक बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लि।बीच सम्झौता भइसकेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिनुभयो । कम्पनीले आन्तरिक र वाह्य पर्यटकलाई विभिन्न अवसरमा टिकट दरमा छुट दिने नीति अनुसार बुटवलको औद्योगिक ब्यापार मेलाका दर्शकलाई पनि सहुलियत दिने उद्देश्य अनुसार यो अफर ल्याइएको उहाँले बताउनु भयो ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको केबलकारको टप स्टेशन बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ । केबलकारले औद्योगिक ब्यापार मेलामा पनि स्टल राखेको छ । मेलामा राखिएको स्टलबाट पनि केबलकारको टिकट लिन सकिने कम्पनीले जनाएको छ ।
पुस ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
त्यस्तै बुटवल स्थित डर्मा स्टोर नेपाल प्रालिले मेलास्थलमै निशुल्क छाला जाँच तथा परामर्श सेवा उपलब्ध गराएको छ । मेलामा बुटवल आइडल र बुटवल डान्स च्पाम्प्स अफ बुटवलको प्रायोजन गरेको सो स्टोरको निःशुल्क छाला जाँचमा हालसम्म पाँच सय बढीले सेवा लिएको सञ्चालक प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा एनालाइजर मेसिन मार्फत छाला जाँच गर्नुका साथै समस्या देखिएकालाई बुटवलै सावित्री क्लिनिकमा बिशेषज्ञ डाक्टरबाट थप निशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराइने सञ्चालक न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मेलाको टिकट लिएर जानेलाई यो सेवा पुस महिनाभर उपलब्ध गराईने छ ।

लुम्बिनी रिभ्यू