कृष्ण गाउँले
बुटवल, पुस २७ । साहित्यीक रचना सुन्ने र सुनाउने बुटवल क्षेत्रको साझा संगम हो साहित्य संगम, बुटवल। साहित्य संगमको ३१८ औं नियमित मासिक शृङ्खला न्यू होराइजन माध्यमिक विद्यालय कालिकानगर बुटवलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै साहित्यकारहरुले देशमा भएका विकृतिका विषयमा चिरफार गर्न जागरुक हुनु जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा समीक्षक ऋषिराम भुसालले वर्तमान समयको साहित्य लेखन प्रवृत्तिबारे आफ्नो विचार राख्दै कार्यक्रममा वाचित रचनाहरुको समीक्षा गरे । कार्यक्रममा अध्यक्षको मन्तव्य राख्दै कवि दलबहादुर गुरुङले लेखक साहित्यले पालना गर्नुपर्ने समय अनुशासन, कार्यक्रम व्यवस्थापन लगायतका विषयमा आफ्नो विचार राखे ।
स्रष्टा सुजता ठकुरीको उद्घाटन गजलबाट सुरुवात भएको कार्यक्रममा रुपन्देहीका साहित्यकारहरु कृष्णप्रसाद कोइराला, लक्ष्मण ज्ञवाली, बालकृष्ण भण्डारी, राजेन्द्रकुमार आचार्य, दीप मिलन, कृष्ण गाउँले, हरिप्रसाद पौडेल, गणेश भण्डारी, गणेश खनाल, विशेषजंग कार्की, नयन्सा थापा, , दलबहादुर गुरुङ, कविराज पौडेल, खगेन्द्र बस्याल, यज्ञलाल सुवेदी, संगम चालिसे, राजु चालिसे, जी। डी। शिखर, रामचन्द्र श्रेष्ठ, सन्ध्या भण्डारी, आरुषी ज्ञवाली लगायतले आ(आफ्ना कविता, कथा, गजल, गीत, हाइकूलगायतका साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा वाचित रचनाको समीक्षा गर्ने परम्परालाई मध्यनजर गर्दै हरेक स्रष्टाको रचनालाई समीक्षक भुसालले छुट्टै समीक्षा गर्दै पृष्ठपोषण समेत दिएका थिए । शृङ्खलामा वाचित रचनाहरु राष्ट्रियताले ओतप्रोत हुनुका साथै समसामयिक परिस्थिति तथा प्रेमलाई विषयवस्तु बनाइएको समीक्षकको भनाइ थियो । बुटवल साहित्य संगम, हरेक महिनाको अन्तिम शनिवार न्यू होराइजन माध्यमिक विद्यालय कालिकानर बुटवलमा नियमित सञ्चालन भैरहेको छ ।

लुम्बिनी रिभ्यू