बुटवल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुन राजनीतिमा आउने चर्चा चलेका बेला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्भव नहुने बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले राज्यको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउन सम्भव नहुने बताउनुभयो । राज्यको सम्मानित संवैधानिक निकायमा बसेर मुलुकको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने बताउदै उहाले त्यस बारेको चर्चा अनुमानका आधारमा मात्र भएको दाबी गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले मूलुकलाई अफ्ठेरो परे जस्तोसुकै भूमिका निभाउन सक्ने भनेपनि सक्रिय राजनीतिमा आउनेबारे केही नभनेको उपमहासचिव ज्ञवालीको टिप्पणी छ । ‘यसैपनि महाधिवेशन आउन अझै २ वर्ष बाकी छ । उहाले केही भन्नुभएको छैन । सायद त्यस्तो मनशाय पनि छैन ।’ उहाले भन्नुभयो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले अमेरिकी सरकारले परराष्ट्रनीति फेर्दा त्यसबाट झण्डै ५० हजार आव्रवासी नेपाली प्रभावीत हुने बताउनुभयो । ९० दिनका लागि बैदेशिक सहयोग विश्राम हुने भनिएपनि आप्रवासन, अमेरिका निर्यात हुने सामाग्री, सुरक्षित मातृत्व एवं सुरक्षित गर्भपतसम्बन्धी परियोजनामा लगानी नगर्न सक्ने उहाले बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले मिथ्या सूचनाको बाढीले सत्य सूचनालाई बगाउने र मुलुकमा अराजकता बढ्नसक्ने अवस्थालाई मध्यनजर गरी सरकारले सामाजिक सञ्जाल नियमन गर्नेसम्बन्धी विधेयक ल्याएको बताउनुभयो । उहाले जनताको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने नभई मर्यादित र व्यवस्थित बनाउन सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन आएको दाबी गर्नुभयो ।

लुम्बिनी रिभ्यू