• Saturday 25th July 2026

प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले

प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले


  • लुम्बिनी रिभ्यू

रूपन्देही, प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।

अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सुवास रिजाल, हिरालाल धामी र ज्ञानु के.सी. रहेका छन् भने सचिवमा यज्ञलाल सुवेदी चयन भएका छन्। सहसचिव गीतारानी बलाल थापा, कोषाध्यक्ष टेकराज भुसाल र सदस्यहरू माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर के.सी., बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हीरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा चयन भएका छन्।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कृष्ण गाउँलेले साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता जनाए। उनले “प्रगतिशील स्रष्टा आकस्मिक उपचार अक्षयकोष” स्थापना गर्ने घोषणा गरे, जसले साहित्यकारहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउनेछ। साथै नियमित दर्शन पाठशाला सञ्चालन, साहित्य महोत्सव आयोजना, साहित्यिक भ्रमण कार्यक्रम सञ्चालन गर्ने लगायत प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समिति उपाध्यक्ष प्राज्ञा नमुना शर्माले संगठनको महत्वबारे चर्चा गर्दै साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताइन्। विशिष्ट अतिथि केन्द्रीय सचिव दलबहादुर गुरुङले प्रगतिशील साहित्यको भूमिका र श्रमिक वर्गको चेतना अभिवृद्धिमा यसको प्रभावबारे प्रकाश पारे। अभिभावकिय आतिथ्यतामा रहेका रामचन्द्र भट्टराई, प्राज्ञ बूँद राना र दिल सहानीले साहित्यिक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए।

यसै अवसरमा प्रलेस, नेपाल रूपन्देहीका अध्यक्ष कविराज पौडेलद्वारा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरियो। साथै, पूर्व अध्यक्ष प्रदीप प्रधानले स्थापना गरेको ‘ज्योतिमान बुद्धिकुमारी प्रधान अक्षयकोष’ बाट वरिष्ठ साहित्यकार तथा पूर्व अध्यक्ष देवेन्द्र घिमिरेलाई ‘प्रलेस सम्मान’ प्रदान गरिएको थियो। कार्यक्रमको अर्को विशेष पक्ष प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको मुखपत्र ‘प्रलेस’ को विमोचन थियो। मुखपत्रले साहित्यिक तथा सामाजिक परिवर्तनका मुद्दाहरूलाई उजागर गर्ने विश्वास गरिएको छ। यस अवसरमा प्रा. डा. कपिलदेव लामिछाने, डा. मुरारी पराजुली, यज्ञ गैरे, सुजित विक, लिलाबहादुर के.सी., डिल्लीराज भट्टराई, डा. अजित खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए। साहित्यिक चेतना अभिवृद्धि र सामाजिक रूपान्तरणको लक्ष्यसहित अघि बढिरहेको प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीले नयाँ नेतृत्वको कार्यकालमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend