बुटवल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता लीला गीरीले राजनीनिक विचार छोडेर भिडका पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
आर्थिक मन्दीले नागरिकमा देखिएका केही निराशालाई लिएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको भन्दै उहाले कुनैपनि उत्तेजक समूह र भीडको पछि नलाग्न आग्रह गर्नुभयो ।नेकपा एमाले शाखा कमिटी बुटवल ९ ले आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपत्रिका विमोचन कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री गीरीले लोकतन्त्र, गणतन्त्र र विचार बोकेका दलमा विश्वाश राख्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो, “हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन । यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउनुपर्छ।’
नेता गीरीले एमाले विकासप्रेमी र जनताका समस्या बुझ्ने पाटी भएको बताउदै निराशामा रहेका र अलमलमा रहेका नागरिकलाई एमालेमा गोलबन्द गर्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नागरिकमा भएको अलमल र निराशा हटाउन एमालेले जागरण अभियान चलाएको बताउदै उहाले त्यसका लागि बुटवलमा चैत २९ गते वृहत कार्यक्रम गर्न लागेको जानाकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका पूर्व उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले युवाहरुलाई पाटीमा आकर्षित गर्न र जनजीविका फेर्नेगरी काम गर्न पाटी पंक्ति लागेको बताउनुभयो । पाटी र विचारभन्दा माथि उत्तेजक समूह नहुने बताउदै उहाले राजतन्त्र वा अन्य नाममा भएका भीडका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले पाटीलाई उचाइमा लैजान कार्यकर्ताहरुको ठूलो भूमिका हुने बताउदै कार्यकर्ताहरुले पाटी विचार र अभियानलाई अंगालेर अगाडि बढ्नुपर्ने बताउनुभयो । शाखा कमिटी बुटवल ९ का वडाअध्यक्ष शेषकान्त बेल्वासेले जनतामा आएको निराशा हटाउन घरदैलोमै पुगेर समस्या बुझ्ने र पाटी सदस्यता नविकरण गर्ने काम गरेको बताउनुभयो । कार्यक्रममा भित्तेपत्रिकाका सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।


लुम्बिनी रिभ्यू