लुम्बिनी, वैशाख १, २०८२ – नयाँ वर्षको अवसर पारेर रुपन्देहीको लुम्बिनीमा दाइजोरहित सामूहिक विवाह आयोजना गरिएको छ । बुद्धजन्मस्थलमा आयोजित विवाह समारोहमा एकै मन्चमा हिन्दु, मुस्लिम र वौद्ध धर्मालम्बी गरी तीन फरक फरक धर्मका जोडीहरुको विवाह भएको हो । फरक फरक धर्माबलम्बी जोडीको सामूहिक विवाहले दाइजोको कुसस्कार हटाउने र सामाजिक एकताको सन्देश एकै पटक दिएको छ ।
ग्रामीण समाज कल्याण लुम्बिनीको आयोजनामा सोमबार राति लुम्बिनी सांस्कृतिक महोत्सव आयोजना गरी दाइजोमुक्त सामूहिक विवाह समारोह भएको थियो ।जसमा ५ जोडीको दाइजोरहित सामूहिक विवाह भएको छ । त्यसमध्ये २ जोडी हिन्दु , २ जोडी मुस्लिम र १ जोडी बौद्ध धर्माबलम्बीको एकै मन्चबाट विवाह भएकोे संयोजक कासिम खानले बताउनुभयो ।
तीन फरक धर्म हिन्दू, मुस्लिम र बौद्धका जोडीको एकै समारोहमा आफ्ना आफ्ना धार्मिक परम्परा र रीतिरिवाजअनुसार वैवाहिक बन्धनमा बाँधिएका थिए । जब हिन्दू, मुस्लिम र बौद्ध धर्मका गुरुहरू एकै मञ्चमा बसेर आशीर्वाद प्रदान गरिरहेका थिए, र बालबालिकाहरूले नेपालको झण्डा हातमा लिएर राष्ट्रिय गान गाइरहेका थिए । यो दृश्यले नेपालमा भएको धार्मिक एकताको सन्देशलाई लुम्बिनीको पवित्र भूमिबाट विश्वभर फैलाउन सकिने सन्देश दिएको खानले बताउनुभयो ।
दाइजोरहित सामूहिक विवाह समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकाल रहनुभएको थियो । उहाले दाइजो प्रथालाई समाजको कलंकको संज्ञा दिँदै यसविरुद्ध सबै लाग्न आग्रह गर्नुभयो । दाइजोरहित सामूहिक विवाहले दाइजो प्रथा हटाउन र सामाजिक सदभाव बढाउन सहज हुने बताउदै सरकारले यस्ता विवाहलाई प्रोत्साहन गर्ने बताउनुभयो । मन्त्री ढकालले लुम्बिनीमा दाइजोको समस्या धेरै रहेको गुनासो सुनिने गरेको बताउदै दाइजो प्रथा गैरकानुनी भएकाले कसैले दाइजो लेनदेन गरेको थाह पाएमा प्रहरीमा उजुरी गर्न समेत आग्रह गर्नुभयो । उहाले भावुक हुँदै भन्नुभयो, “यो दहेज प्रथा समाजको रगत चुसेर बाँच्ने दानव हो। यसले हाम्रा छोरीहरूको जीवनलाई तहसनहस बनाउँछ, परिवारहरूलाई टुक्राउँछ र समाजलाई कमजोर बनाउँछ। यो दानवले कति आमा–बाबुको सपना चकनाचुर पारेको छ, कति छोरीहरूको जीवन अन्धकारमा धकेलिएको छ। यो कलंकलाई हामीले लुम्बिनीको यो पवित्र माटोबाटै उखेलेर फाल्नुपर्छ।”
मन्त्री ढकालले दाइजोका असरबारे सम्बोधन गरीरहदा सभाहलमा सन्नाटा छाएको थियो भने धेरैका आँखाहरू रसाएका थिए । उहाले थप्नुुभयो, “मेरो मन रोइरहेछ, जब म सोच्छु कि हाम्रा छोरीहरू यो प्रथाको कारण कति पीडा सहन्छन्। यो समाजको घाउ हो, र हामी सबै मिलेर यो घाउलाई निको पार्नुपर्छ।”
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमान र उपमेयर कल्पना हरिजन विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । उहाहरुले दाइजोका कारण विपन्न परिवारका छोरीचेलीको विवाह गर्नै नसक्ने र विवाह भएपनि हिंसामा पर्ने परीपाटी रोक्न यस्ता विवाह समारोह फलदायी हुने बताउनुभयो । विवाह समारोहमा लुम्बिनी नगरपालिकाका वडाध्यक्षहरू, समाजसेवी तथा नागरिक अगुवाहरु सहभागी भएर कार्यक्रमको रौनक थपका थिए । छिमेकी देश चीन र भारतबाट आएका पाहुनाहरूले सामुहिक विवाह समारोहलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश प्रवाह गर्न सघाएका थिए ।

लुम्बिनी रिभ्यू